भारतलाई २० करोडको योजना दिनु लज्जाजनक : अध्यक्ष कमल थापा

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय राजदुतावासलाई नेपालका योजनाहरुमा सोझै २० करोडसम्म खर्च गर्न दिने प्रावधानले राष्ट्रियता कमजोर हुने बताएका छन् । पार्टी प्रशिक्षण कार्यक्रमका लागि आज सुर्खेतको वीरेन्द्रनगर आउनु भएका अध्यक्ष थापाले विगतमा ५ करोडसम्मका आयोजनाहरुमा सोझै खर्च गर्दै आईरहेको भारतीय दुतावासलाई थप २० करोडसम्म खर्च गर्न दिनु राष्ट्रिय हित विरोधी काम भएको जनाएका हुन् ।

उनले हिजो गरिएको सम्झौता सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति लज्जाजनक भएको जिकिर गरे । नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकबाट चार वटा सम्झौता मध्ये उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाका नाउँमा गरिएको सम्झौंता खराब पक्ष भएको उनको भनाइ छ ।

‘त्यो सम्झौता बमोजिम अबदेखि छिमेकी भारतले नेपाल स्थित आफ्नो राजदुतावासबाट २० करोडका योजनाहरु नेपालभरी सोझै बाँड्न र लागू गर्न सक्ने हुँदा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र नेपालका निम्ति यो लज्जाजनक सम्झौता हो,’ उनले भने, ‘नेपाल सरकार मातहत भएर खर्च गर्नुपर्ने ठाउँमा सिधा योजनामा खर्च गर्ने भएपछि आपत्तिजनक रुपमा खेद प्रकट गर्दै तत्काल सच्चाईनुपर्ने हाम्रो पार्टीको माग छ ।’

भारतले नेपालमा लगानी गर्ने भएपनि नेपाल सरकार मार्फत विकास तथा अन्य योजनाहरुमा काम गर्नुपर्ने उनको सुझाव छ । उनले भारतीय विदेश मन्त्रीलाई कुटनीतिक मर्यादाभन्दा बाहिर गएर नेपालका पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरुले भेट्न जाँनु पनि दुःखद पक्ष समेत भएको जिकिर गरे ।

एक अर्को प्रसङ्गमा अध्यक्ष थापाले नेपालबाट भारतमा १० हजार मेगावाट विद्युत् निर्यात सम्झौता भने स्वागतयोग्य कदम भएको बताए । उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेपालमा आएका बेला १० वर्षमा नेपालबाट भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौंता कोसेढुङ्गा भएको जनाए ।


‘भारतीय बजारमा नेपाली विद्युतको पहुँच विस्तार हुनुले व्यापारका अन्य नयाँ आयामहरुका लागि समेत बाटो खुलेको छ,’ उनले भने, ‘विगतमा आफुले लगानी गरेको विद्युत आयोजनाबाट मात्र लिने गरेको भारतले अब अन्य लगानीका उत्पादनबाट समेत विद्युत खरिद गर्नु असल पक्ष हो ।’

एक अर्को प्रशंङ्गमा उनले संघीय गणतन्त्रको नामा कायम रहेको वर्तमान व्यवस्था असफल मात्र होइन, भ्रष्ट र तस्करतन्त्रमा रुपान्तरित भएको आरोप लगाए ।

‘असफल प्रमाणित भएको भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राज्य स्थापना, भ्रष्टाचार अन्त्य गरी सुशासन र आर्थिक समृद्धि कायम गर्न समान विचारधारा भएका राजनीतिक दल, समूहका बीचमा बृहत राष्ट्रिय मोर्चा निर्माण गरिनुपर्छ,’ थापाले भने, ‘अहिलेको व्यवस्था असफल भएकोले जनताको चाहनाअनुरुप राजासहितको हिन्दुराष्ट्र, सुशासन र आर्थिक समृद्ध कायम हुनुपर्ने । राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र स्थापना राजनीतिक दलहरु तयार हुने हो भने अहिलेकै संविधानको परिधिभित्र रहेर सहमति र सहकार्यका आधारमा संविधानलाई संशोधन गरेर कायम गर्न सकिन्छ ।’

उनले सहमति र सहकार्य गरेर यही संविधानबाट राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना नगर्ने हो भने आन्दोलन नै अन्तिम विकल्प रहने बताए । उनले कर्णालीको विकासका लागि कर्णालीकै नागरिकहरु अगाडि आउनुपर्नेमा जोड दिए ।

‘कर्णालीमा रहेका धार्मिक तथा सांस्कृतिक क्षेत्रको पर्यटन प्रवद्र्धन, जल, जंगललाई बहुउपयोगी बनाउँदै विकासमा फड्को मार्न सकिन्छ,’ उनले भने, ‘तर, कर्णालीको विकास र समृद्धि बाहिरका व्यक्तिबाट होइन, कर्णालीकै रैथानेबाट हुनु पर्छ । विकास र समृद्धिका लागि युवा अगाडि बढ्नु पर्छ ।’

Translate »