राष्ट्रिय सभा सदस्यका सबै सिटमा उम्मेदवारी दिने एमालेको निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेका विभिन्न क्लस्टरका १९ वटै सिटमा पार्टीको तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको बैठकपछि पार्टी महासचिव शङ्कर पोख्रेलले जानकारी दिए ।

बैठकमा पार्टीको प्रदेश कमिटीहरूबाट सिफारिस भई आएका उम्मेदवारहरूका बारेमा समेत छलफल भए पनि अन्तिम टुङ्गो भने लाग्न बाँकी रहेको महासचिव पोख्रेलले बताए ।


यस्तै शुक्रबारको सचिवालय बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय पनि गरेको छ । मनोनित हुनेमा तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्की रहेका छन् ।

बैठकले नेपाल र भारत बीचको संयुक्त आयोगको विहीबार सम्पन्न बैठकका निर्णयबारे सरकारसँग जानकारी माग्ने तथा कूटनीतिक क्षेत्रमा दीर्घकालीन महत्वका सन्धि सम्झौता गर्दा प्रतिपक्षीलाई समेत विश्वासमा लिन सरकारलाई सचेत गराउने निर्णय गरेको महासचिव पोख्रेलले जानकारी दिए ।

एमाले महासचिव पोख्रेलले सरकारले लिने वैदेशिक सहायता नेपालको बजेट प्रणाली अन्तर्गत मात्रै हुनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको पनि स्पष्ट पारे ।

Translate »