दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् ।
मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिद लगायतका विषयमा अनियमितामा संलग्न भएको आरोप लागेपश्चात उनले आज राजीनामा बुझाएका हुन् ।
खनालको कार्यशैलीलाई लिएर पछिल्लो समय सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा असन्तुष्ट थिइन्। मन्त्री शर्मामार्फत प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष उनले राजीनामा बुझाएको मन्त्रालय स्रोतले जानकारी दियो ।

उनको कार्यकाल सकिन अझै ६ महिना बाँकी छ । उनी २०७६ साउनमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।
पछिल्लो समय टेरामक्सदेखि एमडिएमएससम्मको खरिदमा उनको भूमिका विवादित छ । जसमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ ।
खनाललाई प्रधानमन्त्री कार्यालयले सोमबार छलफलमा बोलाएको थियो। छलफलमा प्रधानमन्त्री कार्यालयका सचिवले समेत उनको कार्यशैलीप्रति आपत्ति जनाएका थिए।