‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न आरजु राणाको माग

काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन् ।

बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेतृ राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् ।

उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् । उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने जनाईन् । यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

विवाह अगाडि सबै प्रक्रिया पु¥याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको उनले बताइन् । उनले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन् । उनले बालविवाह,महिला हिंसा,बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनसक्ने बताइन् ।

Translate »