३४ औं राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई

सुर्खेत । ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लव (एनपीसी) ले जितेको छ । सुर्खेतको वीरेन्द्रनगरमा विहीबार भएको फाईनल खेलमा पहिलो सेट गुमाएको पुलिसले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई हराउँदै उपाधि जितेको हो ।

एपिएफको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पुलिस च्याम्पियन बनेको छ । पुलिस क्लवले क्रमशः २५–१९,२५–१८ र २५–२३ मा ३ अंक लिन सफल भएको हो । एपीएफले भने पहिलो सेट २५–२२ ले जितेर १ अंक लिएको थियो । यो जितसँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला समेत लिएको छ ।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी व्यक्तिगत पुरस्कारमा पनि पुलिसकै खेलाडिको वर्चस्व रहेको छ । पुलिसका मुख्य स्पाईकर रबिन चन्दले सर्वोत्कृष्ट खेलाडी र पहल गहतराज उदयमान खेलाडीको पुरस्कार पाएका छन् ।

यस्तै पुलिसकै इम रानाले उत्कृष्ट सेटर, रबिन नगरकोटीले उत्कृष्ट ब्लकर, भिम गाहा लिवेरो र प्रशिक्षकमा पनि पुलिसकै चन्द्र कुँवर उत्कृष्ट बनेका हुन् । त्यस्तै एपीएफका हेमन्त मल्ल उत्कृष्ट स्पाईकर र गन्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिएका छन् ।

उता विहीबार नै भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेस तेस्रो भएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो ।

२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागियसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।

Translate »