‘सामाजिक सुरक्षा कोषलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने ट्रेड युनियनकर्मीको प्रतिबद्धता’

सुर्खेत । श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई पूर्ण रुपमा कार्यान्वयन गराउन साझा अवधारणाबाट अगाडी बढ्ने कर्णाली प्रदेशमा क्रियाशील ट्रेड युनियनहरुले घोषणा गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार सम्पन्न संयुक्त ट्रेड युनियन समन्वय समिति (जेटियूसीसी) कर्णाली प्रदेशको नेतृत्व हस्तान्तरण कार्यक्रमका सहभागी ट्रेड युनियनकर्मीले सामाजिक सुरक्षा कोषलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जाहिर गरेका हुन् ।
कार्यक्रममा श्रम रोजगार कार्यालय कर्णाली प्रदेशका कार्यालय प्रमुख शम्शेर रानाले श्रम कानुन, सामाजिक सुरक्षा, असल श्रम सम्बन्ध विकास र मर्यादित कामको लागि प्रदेश स्तरीय श्रम समिति गठन गरी अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले श्रम बजारलाई चलायमान बनाउन नीजि क्षेत्र अत्यन्तै अप्ठ्यारो परिस्थितिबाट गुज्रिदै गर्दा निराशाजनकबाट माथि उठी आशावादी बन्नै पर्ने धारणा व्यक्त गरे ।
निवर्तमान जेटियुसीसी कर्णाली प्रदेश संयोजक तेजप्रकाश जिसीले त्रि–पक्षीय सम्वादमा सरकार र रोजगारदाताको निरासाजनक सहभागितालाई सुधार गर्नुपर्ने र श्रमिकहरुको रोजगारीको सुनिश्चितताका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्न प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
सन् २०२४ का लागि एनटियूसी कर्णाली प्रदेश अध्यक्ष गोपालकृष्ण गिरीले जेटियूसीसी प्रदेश संयोजकको नेतृत्व हस्तान्तरण ग्रहण गर्दै छलफल, परामर्श, बहस गर्दै साझा एजेण्डा तयार गरी श्रमिकहरुको पक्षमा पैरवी गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रदेशमा श्रमसँग प्रत्यक्ष सरोकार राख्ने निकायका प्रमुख, पत्रकार र क्रियाशील सात वटा ट्रेड युनियन महासंघका अध्यक्ष, उपाध्यक्ष एवं सचिवहरुको सहभागिता रहेको थियो ।