प्रधानमन्त्री कप : कर्णाली प्रदेश सात विकेटले विजयी

भैरहवा । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा जितका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले ३३ दशमलब २ ओभरमा ७० बल बाँकी छँदै ३ विकेटको नोक्सानीमा १२६ रन बनाउँदै पूरा गर्‍यो ।

कर्णालीको जितमा हिमांशु शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारी खेले । उनले ५ चौका र २ छक्का प्रहार गरे । यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले नटआउट १० रनको योगदान दिए । बलिङमा गण्डकीका अङ्कित न्यौपानेले २ तथा ९ ओभर बलिङ गरेका विपिन खत्रीले ७ मेर्डन राख्दै २ रन खर्चेर १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रनको सामान्य योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए । अगाडिका पाँच ब्याटरले दोहोरो अङ्कमा रन बनाउन नसक्दा छैटौँ नम्बरमा आएका ब्याट्सम्यान अश्वानी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके । चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिए । यस्तै, प्रकाश जैशी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिए । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग ४ विकेटको हार भोगेको थियो ।

प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौँ बाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ वटा खेल हुँदै छन् । सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच प्रतिस्पर्धा हुनेछ ।

Translate »