‘मुलुकको सुरक्षित भविष्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्न एमालेको अभियान’

नेपालगन्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी कुनै समीकरणको जोड घटाउमा नलागी मुलुकको सुरक्षित भविष्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताएका छन् ।

प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जनसरोकारका प्रश्न अगाडि सारेर सरकारमाथि दबाब बढाउन एमाले जनतामाझ गइरहेको जनाए ।


मंसिरमा सम्पन्न पार्टीको ‘समृद्धिका लागि संकल्पयात्रा’ बारे प्रस्ट्याउँदै उनले मध्य पहाडलाई नेपालको विकास र समृद्धिको आधारशिलाको रुपमा विकास गर्ने अवधारणा तयार गर्ने योजनामा रहेको बताए ।

विकास मध्य पहाडतर्फ जाने तर बसाइँ तराईतिर सर्ने समस्याको समाधान खोज्ने प्रयास स्वरूप नेकपा एमालेलेले मध्यपहाडी लोकमार्गलाई केन्द्रबिन्दु बनाएर समृद्धिका लागि सङ्कल्प यात्रा सम्पन्न गरेको जनाए । उनले नेकपा एमालेले भविष्यमा नेपालको सीमावर्ती क्षेत्र हुलाकी सडकलाई पनि केन्द्रबिन्दु बनाएर यस्तै खाले सङ्कल्प यात्रा गर्ने तयारी गरेको बताए ।

Translate »