‘कटन क्यान्डी’ मा अखाद्य रंग भेटियो, खुला बेचिने क्यान्डी नखान विभागको आग्रह

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा खुला रूपमा पाइने रंगीन कटन क्यान्डीमा अखाद्य रङ भेटिएको भन्दै उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ ।
विभागले सोमबार एक जरुरी सूचना सार्वजनिक गर्दै काठमाडौंका विभिन्न स्थानहरूमा खुला रूपमा बेचिएका कटन क्यान्डीमा अखाद्य रङ रोडामाइन बीको प्रयोग गरिएको भेटिएको बताएको छ ।

विभागको सूचनामा भनिएको छ, ‘काठमाडौंका विभिन्न स्थानहरूका सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रङ रोडामाइन बी को प्रयोग भएको यस विभागको प्रयोगशाला जाँच विश्लेषणबाट देखिन आएको हुँदा यस विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न तथा आफ्ना बालबालिकाहरूलाई समेत नदिनु हुन सम्पूर्ण उपभोक्ता वर्गमा विभाग अनुरोध गर्दछ ।’
विभागले अखाद्य रङको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न/नगराउन पनि सूचित गरेको छ ।