राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ११ बजेसम्म करिब ९० प्रतिशत मत खस्यो, नतिजा पनि आजै

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनका लागि आज कर्णालीमा जारी मतदानमा अहिले ११ बजेसम्म करिब ९० प्रतिशत मत खसेको छ ।
कर्णालीबाट तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत परिसरमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्य ११ बजेसम्म आईपुग्दा ९० प्रतिशत मत खसिसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । हालसम्म प्रदेशसभातर्फ ४० मत मध्ये ३५ र स्थानीय तह तर्फ १५६ मत मध्ये १४३ मत खसेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

उनले आजै तीन बजेपछि मतदान गणना कार्य शुरु गरी साँझ ७ बजे सम्म मत परिणाम सार्वजनिक गर्ने आयोगको तयारी रहेको बताए ।
कर्णाली प्रदेशमा ४० जना प्रदेश सभा सदस्य र १ सय ५६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ९६ जना मतदाता रहेका छन् । महिला तर्फ एक जना, दलित तर्फ एक जना र अन्य तर्फ एक जना गरी तीन सिटका लागि ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रमुख प्रतिपक्ष दल एमालेबाट दलित तर्फ हिक्मत विक (दैलेख), महिला तर्फ विमला शाही (हुम्ला) र अन्यतर्फ डिल्लीप्रसाद भट्ट उम्मेदवार हुनु भने सत्ता गठबन्धनका तर्फबाट दलित कोटामा माओवादी केन्द्रका विष्णु विक (कालिकोट) महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), र अन्यतर्फ नेपाली कांग्रेसका कृष्ण रोकाया उम्मेदवार हुन् ।