राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा शतप्रतिशत मत खस्यो

सुर्खेत । राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा शतप्रतिशत मत खसेको छ । कर्णालीबाट तीन सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत परिसरमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्य साढे १२ बजेसम्म शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुका लागि दुई छुट्टा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।

प्रदेशसभातर्फ ४० मत र स्थानीय तह तर्फ १५६ मत खसेसँगै शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनले आजै तीन बजेपछि मतदान गणना कार्य शुरु गरी साँझ ७ बजे सम्म मत परिणाम सार्वजनिक गर्ने आयोगको तयारी रहेको बताए ।


कर्णाली प्रदेशमा ४० जना प्रदेश सभा सदस्य र १ सय ५६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ९६ जना मतदाता रहेका छन् । महिला तर्फ एक जना, दलित तर्फ एक जना र अन्य तर्फ एक जना गरी तीन सिटका लागि ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रमुख प्रतिपक्ष दल एमालेबाट दलित तर्फ हिक्मत विक (दैलेख), महिला तर्फ विमला शाही (हुम्ला) र अन्यतर्फ डिल्लीप्रसाद भट्ट उम्मेदवार हुन भने सत्ता गठबन्धनका तर्फबाट दलित कोटामा माओवादी केन्द्रका विष्णु विक (कालिकोट) महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), र अन्यतर्फ नेपाली कांग्रेसका कृष्ण रोकाया उम्मेदवार हुन् ।

Translate »