अवैधानिक रुपमा सञ्चालित बालगृहको छानबिन गरी दोषीलाई कारबाही गर्न आयोगको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय महिला आयोगले अवैधानिक रुपमा सञ्चालित बालगृहको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
आयोगले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालित बालगृहमा आश्रित बालबालिकालाई बेवारिसे, असुरक्षित अवस्थामा रहेको भन्दै व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएको हो ।

गोकर्णेश्वर नगरपालिकास्थित लवप्रसाद सुधार सङ्घ (लव प्रबाल गृह) ले न्यूनतम मापदण्ड पूरा नगरी आधिकारिकता बिना सञ्चालन गरेको र बालगृहमा आश्रित बालबालिकालाई बेवारिसे, असुरक्षित अवस्थामा रहेको सूचनाका आधारमा यही मङ्सिर ५ मा अनुगमन गरी सम्बन्धित निकायमा बालबालिकाको तत्काल उद्धार गर्न सिफारिस गरी उद्धारमा पहल गरेको थियो ।
अनुगमनपछि आयोगले तयार पारेको प्रतिवेदनमा उक्त गृहले बालबालिकालाई मानसिक, शारीरिक तथा यौनजन्य आपराधिक कार्यमा संलग्न गराएको उल्लेख गरेको छ ।