हुस्सुले हवाई सेवा प्रभावित

हुम्ला । हुस्सुका कारण हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । उता हुस्सुकै कारण मुगुमा पनि ३ दिनदेखि उडान नहुँदा यात्रु मर्कामा परेका छन् । नेपालगञ्जमा बिहान बाक्लो हुस्सु लाग्न थालेपछि मुगु र हुम्लामा हवाई सेवा प्रभावित बनेको हो ।

नेपालगञ्जमा दिउँसो १२ बजेसम्म बाक्लो हुस्सु लाग्ने र १२ बजेपछि आकाश खुल्न थालेपछि फेरि मुगु र हुम्लामा हावा चल्ने गरेपछि हवाई उडान प्रभावित बनेको छ । बिहान १२ बजेसम्म नेपालगञ्जमा बाक्लो हुस्सु लाग्ने र १२ बजेपछि आकाश खुल्न थालेपछि हुम्लामा हावा चल्न सुरु हुँदा ५ दिन देखि हवाई उडान नभएको सिमकोट हवाई नागरिक उड्डयन प्राधिकरणका निमित्त प्रमुख निसान झाले बताए ।
हवाई सेवा अवरुद्ध हुँदा नेपालगञ्जदेखि सिमकोट आउने यात्रु र सिमकोटबाट सुर्खेत नेपालगञ्जतर्फ जाने यात्रु अलपत्र परेका छन् । जहाज उडान नहुँदा हुम्लामा यात्रुदेखि ब्यापारीको समान खाद्यन्न लैजान बाधा परेको छ । हुस्सुका कारण हवाई सेवा अवरुद्ध हुँदा रारा घुम्ने पर्यटकदेखि सर्बसाधारण यात्रु मर्कामा परेका छन् ।