२०८३ भदौ २२ , सोमबार
Sky News Nepal
September 8, 2026

शाखा अधिकृतसँग १० कराेडभन्दा बढी सम्पत्ति

स्रोत नखुलेको ४ करोड सम्पत्ति कान्छी श्रीमतीसँग भेटिएपछि मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुर, धनुषाका शाखा अधिकृत मीनबहादुर भट्टराईविरुद्ध चार करोडभन्दा बढी रकम भ्रष्टाचार गरेकाे आराेपमा मुद्दा दायर गरेकाे छ ।

०५४ सालमा सेवामा प्रवेश गरेका भट्टराईले सेवा अवधिमा चार करोड ४० लाख १५ हजार नौ सय २५ रुपैयाँ गैरकानुनी सम्पत्ति जोडेको र सोको वैधानिक स्रोत नखुलेको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति ०५४/०४/२६ देखि मिति ०७९/०२/३० गतेसम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गर्दा सो रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

‘सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति भट्टराईको कान्छी श्रीमती झुनाकुमारी कठेत समेतको नाममा जग्गा खरिद, शेयर खरिद तथा बैंक खातामा रकम मौज्दात लगायतको सम्पत्तिको स्रोत पुष्टि हुन सकेन्,’ अख्तियारको प्रेस विज्ञप्तिमा उल्लेख छ । अख्तियारले स्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्ने प्रयोजनार्थ झुनाकुमारीलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढे–बढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गर्न समेत अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार
Translate »