चिङगाडको पालिका केन्द्र विवाद : अदालतले ध्यान नदिँदा नागरिकलाई सास्ती

सुर्खेत । सुर्खेतको पूर्वी उत्तर क्षेत्रमा रहेको चिङ्गाड गाउँपालिका भौगोलिक रुपमा विकट छ । यो गाउँपालिका भूगोलका हिसावले दैलेख र जाजरकोटसँग जोडिएपनि दुर्गम क्षेत्र भित्र पर्दछ । संघ र प्रदेश सरकारको विकास बजेटमा समेत विभेदमा परेको यो पालिकासँगको न्यून बजेटले नागरिकका असीमित मागहरु सम्बोधन गर्नुपर्ने बाध्यता छ ।
भौगोलिक विकटताको कारण घरबस्तीहरु टाढाटाढा छन् । संघ र प्रदेशबाट मेघा प्रोटेक्ट र अन्य आयोजनाहरु नआउँदा थप समस्याले पिरोलिएको छ । गाउँपालिकाको केन्द्र विवाद साढे ६ वर्ष वित्दा समेत टुङ्गिएको छैन । केन्द्र विवाद नटुगिँदा पालिका भित्रको भौतिक पूर्वाधार निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समस्या भईरहेको छ ।
राजनीतिक दलका नेताहरुको आ–आफ्नो स्वार्थको कारण चिङ्गाड पालिका केन्द्रविहिन भएको हो । पालिकाको आफ्नै केन्द्र नहुँदा सेवाग्राही मर्कामा परेका छन् । पालिका केन्द्रको टुङ्गो लाग्न नसक्दा प्रशासनिक कामकाज अवलचिङ्गबाटै हुँदै आएको छ । धेरैजसो सेवाग्राहीलाई पालिका केन्द्रसम्म पुग्न दिनभरी हिड्नु पर्ने बाध्यता छ ।
पालिका केन्द्र विवाद सर्वोच्च अदालतसम्म पुगेपछि कहिले टुङ्गिने भन्ने अन्योलताले समस्याहरु उत्पन्न भएको गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले बताए । उनले पालिकाको केन्द्र तोकिएपनि सर्वोच्चमा मुद्दा परेकाले फैसलामा ढिलाई हुँदा नागरिकमा जनप्रतिनिधिमाथि असन्तोष बढ्दै गईरहेको जनाए ।
‘म भन्दा पहिले बनेको गाउँपालिका सरकार नेपाली काँग्रेसको एक्कल बहुमतको सरकार थियो । गाउँपालिकाको केन्द्र कहाँ बनाउने भन्ने निर्णय नै उसले गर्न सकेन्,’ उनले भने, ‘यसका वावजुद विकास निर्माणमा सकारात्मक सोंचका साथ त्यसबेला हामी प्रतिपक्ष हुँदाहुँदैपनि गाउँपालिकाको केन्द्र तोक्न दुई तिहाई बहुमत पु¥याउन सहयोग गरियो । त्यसबेला गाउँपालिका केन्द्रका लागि मेरै नेतृत्वमा चन्दा उठाएर नौ रोपनी जग्गा पनि खरिद गरियो । राजनीतिक सहमतिबाटै बन्ला भन्ने लाग्यो तर अनेकन स्वार्थसमूहको जालझेलले पालिका केन्द्र बनेन् ।’
उनले दुई तिहाई बहुमतले पालिकाको केन्द्र सार्ने निर्णय हुँदाहुँदैपनि तत्कालिन अध्यक्ष देवबहादुर चन्दको मनसाय पालिका केन्द्र नबनाउने भएकै कारणले गति लिन नसकेको बताए । उनका अनुसार त्यसबेला निवर्तमान उपाध्यक्ष मनमाया आचार्यले अरु मान्छे लगाएर उच्च अदालत सुर्खेतमा मुद्धा हालेपछि फैसला ढिलाईले थप समस्या भईरहेको थियो ।
‘पुनारावेदनबाट फैसला हुँदापनि पालिका केन्द्र बनाउने र सार्ने काम भएन । अन्त्यमा निवर्तमान उपाध्यक्ष आचार्यलगायतको टीमले सर्वोच्च अदालतमा मुद्धा हाल्यो,’ उनले भने, ‘अदालतले कुनैपनि कामकाज अगाडि नबढाउनु भन्ने आदेश दिँदा अहिलेसम्म काम रोकिएको हो ।’ उनले अघिल्लो गाउँपालिका सरकारका दुबै जना एउटै पार्टी नेपाली काँग्रेसबाटै निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुँदाहुँदैपनि आपसी विवादका कारणले गाउँपालिकाको केन्द्र तोक्नेदेखि भवन निर्माणको काम अलपत्र परेको जानकारी दिए ।

अदालतले छिटो भन्दा छिटो मुद्धाको किनारा लगाई दिएको भए जनतालाई सहज हुने उनको विश्वास छ । अन्यथा, मुद्धा दायर गर्ने पक्षले मुद्धा झिकि दिएमा केन्द्र तोक्ने र प्रशासनिक भवन निर्माण कार्य अघि बढ्ने त्यहाँका कानूनी जानकार बताउँछन् ।
अहिले पालिका केन्द्र नहुँदा दह, च्यारकुले, पाखापानी, गोगने, लावन रजेना, काउले कोटिला, पारीलेख रहकुल, बाटासाल, डाँडाखर्क, काँडा पोखरी पुङ, काँडा घुओनी, अवल घुओनी, पाईले वडा काँडा धनपानी, देउला सिंहला, मटेला जोगाडा, चद्रर्के, पाम्का, टोट्का र पुडे सिमीलगायत गाउँका नागरिकले दिनहुँ आर्थिक तथा मानसिक समस्या पाईरहेका छन् ।
चिङ्गगाड–३ टुलेका बासिन्दा चिमानबहादुर रानाले पालिका बनेको ६ वर्षसम्म केन्द्रको टुङ्गो नलाग्नु दु:खको कुरा भएको बताए । उनले सुरुवाती वर्षदेखि पालिकाको केन्द्र तोक्ने कार्यमा दलहरुबीच भएको विवाद अहिलेसम्म पनि समाधान नहुँदा आफूहरुले दु:ख पाईरहेको गुनासो गरे ।
‘हाम्रा जनप्रतिनिधिका लागि पालिका केन्द्र तोक्न नसक्नु जस्तो लाजमर्दो अरु के होला ? उनले भने, ‘पालिकाको केन्द्र नबन्दा हामी नागरिकहरुमा मात्र होइन स्वयम् जनप्रतिनिधिलाई समेत कठिनाई भईरहेको छ ।’ उनले सबै प्रक्रिया पुरा भएको र राज्यको धेरै खर्च भइसकेको केन्द्रका विषयमा अदालतले ध्यान नदिएकै कारणले बिवाद लम्वीदै गएको बताए ।
गाउँ सभाको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव अदालतको फैसला ढिलाइले नागरिकसँगै पालिकालाई सेवा प्रवाहमा समस्या भईरहेको छ । पालिका केन्द्रका लागि पर्याप्त भौतिक पूर्वाधार, भौगोलिक र प्रशासनिक सुगमता, यातायात सञ्चार सुविधाका आधारमा चिङ्गगाडको ‘ढाँडखेत’ उपयुक्त स्थान हो ।
पालिकाको वडा नम्वर. २ स्थित ‘ढाँडखेत’ केन्द्रविन्दु बनाउन बहुसंख्यक नागरिक जोडतोडले लागेपनि अदालतको विचराधिन मुद्धा फैसलामा भईरहेको ढिलाईले विवाद समाधान हुन सकिरहेको छैन । पालिकाको केन्द्रका विषयमा अदालतमा मुद्दा चलिरहेकाले अदालतले नटुङ्गाएसम्म अन्य कुनै प्रक्रिया अगाडि नबढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समिक्षा सोमैले बताईन् ।