बजेट नहुँदा जुम्ला विमानस्थलको जग्गा अधिग्रहण प्रक्रिया रोकियो

जुम्ला । बजेट अभावका कारण जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्ने कार्य रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउन परिपत्र गरेपछि जिल्लाको नापी र मालपोत कार्यालयमा जग्गाको कित्ताकाटको काम थालिएको थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने जग्गा अधिग्रहणको काम बजेट विनियोजनको टुङ्गो नलाग्दा रोकिएको छ ।

विमानस्थल विस्तारका लागि १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । जसका लागि मुआब्जा मात्रै ४८ करोड लाग्ने अनुमान छ । तर विस्तारका लागि ४ करोड ४२ लाख बजेट पठाएको सरकारले मुआब्जाका लागि हाल सम्म सुक्को बजेट नपठाउँदा जग्गा अधिग्रहणको काम रोकिएको जुम्ला विमानस्थल प्रमुख सन्तोष अधिकारीले बताए ।

उनले भने ,‘बजेटको टुङ्गो नलागेकोले जग्गा अधिग्रहणको काम रोकिएको छ । कहिले बजेट सुनिश्चित हुने, कहिले काम अघि बढ्ने टुंगोनै छैन । आएकै बजेट फिर्ता होला भन्ने चिन्ता छ । टर्मिनल भवन बनाउन नत बजेट,नत कसैको चासो । बजेट नै विनियोजन हुन मुस्किल छ । एयरपोर्ट विस्तारको विषय फलामको चिउरा चपाउनु जस्तै कठिन बनेको छ ।’

जग्गा अधिग्रहण बिना विमानस्थल विस्तार असम्भव जस्तै भएपछि विनियोजित ४ करोड ४२ लाख बजेट नागरिक उड्डयन प्राधिकरण जुम्लालाई उक्त बजेट,निल्नु न ओकल्नु भएको थियो ।

अति नै आवश्यकता भएको टर्मिनल भवन निर्माण बजेट अभावले अघि बढ्न सम्भव छैन । ढिलो चाँडो एयरपोर्ट विस्तार भएपनि साढे दुई दशक पुरानो भवनबाटै काम चलाउनु पर्ने अवस्था छ । जग्गा अधिग्रहण तथा जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक चरणको काममा अघि बढेको सार्वजनिक सूचना प्रकाशित भएको थियो । तर बजेट नभएपछि अहिले काम रोकिएको छ ।

जुम्ला विमानस्थल विस्तारका लागि कुल १८३.८० रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । हाल जुम्ला विमानस्थल धावनमार्गको लम्बाई ६७० र चौडाई २० मिटर रहेको छ । विमानस्थल विस्तारका लागि धावन मार्गको ३५० मिटर पूर्वतिर र ९२ मिटर पश्चिमतिर जग्गा अधिग्रहण गर्नुपर्ने छ ।

हरेक वर्ष विमानस्थल विस्तार भनेर थोरै धेरै बजेट आएपनि टर्मिनल भवन निर्माण भनेर छुट्टै बजेट आउने गरेको छैन । तर विस्तारको बजेट जग्गा अभावले खर्च नहुने समस्या यश वर्षपनि दोहोरिने स्थिति छ ।

जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्नका लागि प्राधिकरणलाई स्वीकृति प्रदान गर्नेबारे गत जेठ २ गते बसेकोको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । त्यसयता बजेट व्यवस्थापनमा कसैले ध्यान नदिँदा काम रोकिएको जुम्ला विमानस्थलले जनाएको छ ।

विनियोजित चार करोड ४२ लाख बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाजसम्म जाने बाटो (ट्याक्सी वे) लगायतका संरचना निर्माण हुने छन् । तर जग्गा अधिग्रहण र मुआब्जा दिनका लागि भने बजेट अभाव कायमै छ ।

जग्गा अधिग्रहण गर्दा सरकारी रेटमै मुआब्जा दिन पनि करिब ४८ करोड बजेट आवश्यक पर्छ । तर यति ठुलो बजेट सरकारले सहजै दिने स्थिति छैन । जुम्लाकी सांसद विनीता कठायतले टर्मिनल भवन निर्माणका लागि आवश्यक बजेट जुटाउन पहल गर्ने बताए । जुम्ला विमानस्थलका प्रमुख अधिकारीसँग छलफल गर्दै अत्यावश्यक रहेको टर्मिनल भवन पुनर्निर्माणका लागि पहल गर्ने उल्लेख गरेका छन् ।

उनले भने, ‘विमानस्थल पनि पुरै विस्तार हुनुपर्छ तर वर्तमान आवश्यकता जे हो त्यसलाई बढी प्राथमिकता दिनु पर्छ । मुआब्जाको बजेट र टर्मिनल भवन निर्माणका लागि प्राधिकरण हुँदै अर्थमन्त्रालयमा आवश्यक समन्वय गर्छु । सबैको साथ हुन जरुरी छ ।’ (रेडियो नेपाल)

Translate »