कर्णालीमा हिमपात : किसान उत्साहित,उडान अवरुद्ध

जुम्ला । कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्लामा यस वर्षको पहिलो हिमपात भएको छ । जुम्लासहित कर्णालीका मुगु,हुम्ला र डोल्पामा बिहीबार रातीदेखि भारी हिमपात भएको हो भने कालिकोटमा उच्च भू–भागमा हिमपात र बेसीमा वर्षा भएको छ ।

लामो समयसम्म हिउँ नपरेपछि चिन्तित बनेका कर्णालीका किसान हिमपातसँगै उत्साहित भएका छन् । पुसमै हिउँको प्रतीक्षा गरिरहेका किसानहरू ढिलै भएपनि हिउँ पर्दा हर्षित भएका हुन् ।

हिउँ नपरेसम्म कर्णालीको हिउँदेबाली उत्पादनमा गिरावट आउँछ भने स्याउ बगैँचा व्यवस्थापनमासमेत समस्या हुन्छ । त्यसले पनि कर्णालीका किसान हिउँदमा हिउँको प्रतीक्षा गर्छन् ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले अहिले भएको हिमपातले कृषि क्षेत्रमा विशेष राहत पुराउने बताए । उनले भने, ‘यो वर्ष ढिला हिमपात भयो । त्यो पनि अपेक्षाअनुसार हिउँ परेन । थोरै भएपनि बालीनालीलाई सघाउ पुग्छ । स्याउ बगैँचा व्यवस्थापनमा पनि राहत हुन्छ ।’


किसानहरूलाई स्याउका बोटहरूमा खाडल बनाई हिउँ संकलन गर्नसमेत देवकोटाको अनुरोध छ ।

यो वर्ष हिउँ नपरेर हिउँदेबाली खेतमै सुक्ने चिन्ताले पिरोली रहेको बेला थोरै भएपनि हिमपात भएर राहत मिलेको किसान चन्द्रविर चनाराले बताए । हिउँदको कर्णालीको कृषि र जनजीवनसँग जोडिएको छ । उनले भने, ‘हिउँ नपरी हिउँदे जौ बाली सप्रिन्न । पुस माघमा हिउँ नपरेसम्म तातो रिट्दैन भन्ने विश्वास छ । त्यसैले कर्णालीमा हिउँको आफ्नै महत्व छ ।’

गतसाल पुसमै हिमपात भएर तातो रिटिसकेको थियो । बालीनाली सप्रिएको थियो । किसान कालो कामीले भने, ‘पुस माघमा हिउँ परेन भने स्याउ बगैँचा व्यवस्थापन गर्न मिल्दैन। जसले उत्पादन घट्छ । हिउँ परेपछि नयाँ बिरुवा रोप्ने चटारो पनि सुरु हुन्छ । विगतको तुलनामा निकै हिउँ कम आउन थाल्यो ।’

हिमपातसँगै जुम्ला,हुम्ला,डोल्पा र मुगुको हवाई उडान अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्लामा नियमित हुँदै आएको उडान अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।

चिसोले कर्णालीको जनजीवनसमेत प्रभावित भएको छ । जेष्ठनागरिक,बालबालिका,सुत्केरी महिला प्रभावित छन् । उता मुगुको रारा तालमा पनि करिब २ इन्च हिउँ परेको छ । हिमपातपछि रारा तालमा हिउँ खेल्ने पर्यटकहरूको भिडसमेत लाग्छ ।  रेडियो नेपाल

Translate »