पेट्रोल, डिजेल र ग्यास महँगियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टीतेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

निगमले बिहीवार विहानबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको छ । डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको निगमले जानकारी दिएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको निगमको विज्ञप्तिमा उल्लेख छ । अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल १६७ रुपैयाँ ५० र डिजेल/मट्टीतेल १५५ रुपैयाँ ५० पैसा प्रतिलिटरमा पाइनेछ ।
सुर्खेत र दाङका उपभोक्ताले पेट्रोललाई १६९ र डिजेल/मट्टीतेललाई १५७ रुपैयाँ तिर्नुपर्छ । काठमाडौं, पोखरा र दिपायलमा पेट्रोललाई १७० र डिजेल/मट्टीतेललाई १५८ रुपैयाँ तिर्नुपर्नेछ । ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँ कायम भएको छ । इन्डियन आयल कर्पोरेशनबाट आगामी १५ दिनको लागि मूल्य बढेर आएपछि निगमले भाउ बढाएको हो ।