सुर्खेतमा अबैध ढक तराजु जफत

सुर्खेत । हामीले बजारबाट खरिद गर्ने सामान जोख्ने ढक–तराजुले सही मापन ग¥यो कि गरेन भनेर कहिल्यै पनि सोचेका हुदैनौं । पसलेले तौलकै भरमा सामान किन्दा ठगिने गरेका प्रशस्तै उदाहरण हुँदाहुँदै पनि उपभोक्ताले ध्यान नदिँदा यो क्रम अझै बढेर गएको छ ।

दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर खरिद–बिक्री हुने भएपनि त्यसमा प्रयोग हुने ढक–तराजु भने नियमनबाहिर रहेको पाइएको हो ।

सुर्खेत सदरमुकाम स्थित बसपार्क क्षेत्रका फलफूल तथा घुमन्ते व्यापारीले अवैध ढक, तराजु प्रयोग गरिरहेको भेटिएको छ । कम तौल दिएर उपभोक्तालाई ठगि गरिरहेको गुनासो आएपछि बुधबार गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतले गरेको बजार अनुगमनका क्रममा व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको भेटिएको हो ।

यात्रुलाई प्लाष्टिकको पोका र ठेलामा फलफूलको व्यापार गर्ने अधिकांश भारतीय नागरिकले कम तौल भएका ढक र बिग्रेका तराजु प्रयोग गर्ने गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले तीन दर्जन अबैध ढक तराजु जफत गरेको गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतका निमित्त प्रमुख टोपेन्द्र विकले जानकारी दिए ।

उनले अनुगमनका क्रममा घुमन्ते र ठेलामा तरकारी तथा फलफूल विक्रेताले ढुङ्गाको ढक राखेर तौलिने गरेको, स्पिरिङ्ग काँटा र भारतीय ढक प्रयोग गरि कम तौल दिएर उपभोक्तालाई ठगि गरिरहेको पाईएपछि ढक तराजु जफत गरिएको बताए । उनका अनुसार व्यवसायीलाई पहिलो पटक अबदेखि त्यस्तो नगर्न सचेत गराईएको र फेरि दोहो¥याएमा कारबाही गरिने चेतावनी दिइएको छ ।

‘धेरैजसो बजार क्षेत्रका पसलका ढक तराजु लामो समयदेखि पुन परीक्षण गरीएको छैन । तर उनीहरुलाई तुरुन्त परीक्षण गराउन निर्देशन दिँएका छौं । प्रमाणीत नै नगरी प्रयोग गरीएका तराजु सिलबन्दी गर्ने अभियानले तीव्रता पाउँछ,’ उनले भने, ‘तोकिएको समय भित्र ढक तराजु प्रमाणीकरण नगर्नेलाई कानून अनुसार कार्वाहीको दायरा भित्र ल्याउँछौं ।’

उनले नापतौल घटबढ गरी प्रयोग गरेमा सामान जफत, जेल सजाय र एकहजार देखि पाँच हजार सम्म जरीवाना हुने कानुनी व्यवस्था रहेको जनाए । उनका अनुसार हरेक २/२ वर्षमा नाप तौल विभागले प्रमाणीकरण गरेका ढक तराजु मात्रै व्यापारीले प्रयोग गर्न पाउने व्यवस्था छ ।

नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भएपनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् ।

‘सुर्खेतका ग्रामीण क्षेत्रमा दैनिक जीवनमा प्रयोग हुने अधिकांश सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकांश ढक–तराजु पनि अवैधरुपमा प्रयोग भइरहेका छन्,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष कुमारी भुसालले भनिन्, ‘यसबाट व्यापारी मोटाइ रहेका छन् भने उपभोक्ता दिनहुँ ठगिरहेका छन् ।’

व्यवसायीले सामान तौलने प्रयोजनका लागि खरिद गरेका ढक–तराजु परीक्षणबिना प्रयोग गर्न बन्देज गरिएपनि सुर्खेतमा भने निर्वाधरुप प्रयोग गरिएका छन् । धेरैजसो मासु व्यवसायी, तरकारी तथा फलफूलका व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको पाइन्छ ।

मासु, फलफूल, तरकारीलगायत अन्य सामान सडकमा राखिएका पसलबाट किन्दा ठगिने गरे पनि उपभोक्तामा त्यसविरुद्ध सम्बद्ध निकायमा उजुरी गर्नुपर्छ भन्ने जानकारी नभएकाले ठगिनुपरेको अधिकारकर्मीको बुझाइ छ । अधिकारकर्मीका अनुसार व्यवसायीले ढक नै कम तौलको बनाएर उपभोक्ता ठगिरहेका छन् ।

एक किलोको ढकमा एक हजार ग्राम हुन्छ तर ९०० ग्राम मात्रै राखिएको ढकलाई एक किलो भन्दै सामान तौलने गरिएको विभिन्न अनुगमन रिपोर्टले देखाएको छ । त्यसैगरी ठेला वा साइकलमा फलफूल बिक्री गर्ने धेरै व्यापारीले दुईतिर पल्ला भएको काँटावाला तराजु प्रयोग गर्छन् ।

तराजुको दुईतिर रहेको पल्लाको तौल बराबर हुनुपर्छ । तर, व्यापारीले एउटा गह्रौँ र अर्को तुलनात्मक रूपमा हलुका पल्ला प्रयोग गर्छन् । हलुका पल्लामा ढक र गह्रौँ पल्लामा फलफूल राख्छन् । गह्रौँ पल्लामा थोरै फलफूल राख्दा पनि धेरै हुन्छ र उपभोक्ता ठगिने अधिकारकर्मीले बताएका छन् ।

 

Translate »