बहुप्राविधिक शिक्षालय बनाउन १७ हजार वर्गमिटर जग्गा दान

जुम्ला । सिंजा गाउँपालिका –६ भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न यहाँ स्थानीयले लाखौँ मूल्यको जग्गा दान गरेका छन् ।

सिटिइभीटिले स्वीकृत प्रदान गरे पनि जग्गा पास नहुँदा काम अघि बढेको थिएन् । स्थानीयले आज मालपोत कार्यालय जुम्लामा १७ हजार १६५ वर्गमिटर जग्गा नामसारी गरेसँगै शिक्षालय निर्माणको बाटो खुलेको हो ।

शिक्षालय स्थापनाका लागि सिंजा गाउँपालिका ६ का स्थानीयले १७ हजार १६५ वर्गमिटर जग्गा निःशुल्क रुपमा दान गरेका हुन् । स्थानीयले लाखौँ मूल्य बराबरको जग्गा निःशुल्क दान गरेपछि शिक्षालय स्थापनाको बाटो खुलेको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।

उनले भने, ‘गाउँपालिकाको लगातार प्रयासपछि सिटिइभीटीले स्वीकृति प्रदान गरेको थियो । स्थानीयले पनि दिलौरीमा जग्गा दिन तयार थिए । तर जग्गा कानुनी प्रक्रियाअनुसार नामसारी नहुँदा काम अघि बढेको थिएन् । अब जग्गा पनि कित्ताकाट भइसक्यो । चाडै शिक्षालय निर्माणको प्रक्रिया अघि बढ्छ ।’

भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्ने गरी आंगिक शिक्षालयका रुपमा स्थापना गरिने अध्यक्ष धितालको भनाई छ । बहुप्राविधिक शिक्षालयको नाममा लाखौँको जग्गा निःशुल्क प्राप्त गर्न सफल भएकोमा अध्यक्षले जग्गादातालाई धन्यवाद दिएका छन् ।

यसअघि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) सानोठिमी भक्तपुरले सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटीइभिटीका पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले बताए ।

उनले भने, ‘स्वीकृत प्राप्तसँगै जग्गा प्राप्तिको प्रक्रिया थालिएको थियो । यहाँको कृषि सम्भावनालाई अवसरमा बदल्न, अध्ययन अनुसन्धानका लागि दक्ष जनशक्ति उत्पादन गर्न, र रोजगारी वृद्धि गर्न प्राविधिक शिक्षाको महत्व छ । घर आँगनमै प्राविधिक शिक्षा आर्जन गरी मुलुकको दक्ष जनशक्ति बन्ने एक अवसर पनि हो । बजेट जुटाउन सबैले पहल गर्न आवश्यक छ ।’

सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीले प्राविधिक शिक्षाले परनिर्भताको अन्त्य गर्ने भएकोले सिञ्जामा बहुप्राविधिक शिक्षाले स्थापना हुनु गौरवको विषय भएको बताए ।

उनले भने, ‘बिना स्वार्थ जग्गा दिने जग्गा दाताको योगदानलाई पालिकाले उच्च कदर गर्नुपर्छ । बजेट पालिकाका जनप्रतिनिधिदेखि सबै दलहरूले बजेट जुटाउन पहल गर्नुपर्छ । चाँडै निर्माण कार्यलाई अघि बढाउनुपर्छ । विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्ने छ ।’

शिक्षा क्षेत्रको लगानीले भविष्यमा समाज,जिल्ला र राष्ट्रको समृद्धिका लागि उपलब्धिमूलक हुने भएकोले पनि प्राविधिक शिक्षामा जोड दिनु अत्यावश्यक रहेको छ ।

२०३७ सालमा नेपालकै पहिलो प्राविधिक शिक्षालयका रुपमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय राज्यको उपेक्षामा छ । यद्यपि, शिक्षालयले हजारौँको संख्यामा दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । सिञ्जामा बन्ने शिक्षाले जुम्लाका ८ पालिकामध्ये पहिलो शिक्षालय हुने छ । रेडियो नेपाल

Translate »