दुर्लभ कृष्णसार हेर्नेको संख्या वृद्धि

बाँके । वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षित वन्यजन्तु को सुचीमा सूचीकृत बर्दियाको गुलरिया स्थित खैरापुरको प्राकृतिक बासस्थानमा रहेका कृष्णसार अवलोकन गर्ने पर्यटकको संख्या बढेको छ ।

नेपालमा मात्र नभएरै विश्वमै दुर्लभ मानिने संरक्षित वन्यजन्तु हेर्न आन्तरिक सार्क मुलुक लगायत विदेशी पर्यटक बढेसँगै राजस्व संकलनमा समेत वृद्धि भएको छ। कृष्णसार संरक्षण क्षेत्रमा विदेशी पर्यटकको संख्या बढेको छ।

आर्थिक बर्ष २०७९र८० मा नेपाली ५ हजार ७ सय सार्क मुलुकबाट ४ र विदेशी ४ गरि ५ हजार ७ सय ८ जना पर्यटकले कृष्णसार संरक्षण क्षेत्र अवलोकन गरेका छन् । आर्थिक बर्ष २०८०र८१ को असार सम्म नेपाली ५ हजार ५ सय ६३, सार्क मुलुक ९ र विदेशी ४२ गरि ५ हजार ६ सय १४ जनाले अवलोकन गरेका छन् । अवलोकनमा आउने पर्यटक मध्य बाह्य मुलुकको भन्दा नेपालीको संख्या अधिक छ। आर्थिक बर्ष २०७९र८० मा संरक्षण क्षेत्रमा आएका पर्यटकबाट ६ लाख ६३ हजार ६ सय ३० रुपैयाँ राजस्व संकलन भएकोमा २०८०र८१ को असार मसान्त सम्ममा ६ लाख ४४ हजार ८ सय रुपैयाँ राजस्व उठेको कृष्णसार संरक्षण क्षेत्रका अधिकृत विनयकुमार झाले जानकारी गराएका छन् ।

संरक्षण क्षेत्रमा प्रवर्द्धन गर्न कार्यालयले भ्यु टावर डिजिटल बोर्ड निर्माण लगायत होमस्टे प्रवर्द्धनको लागि सुरुवात गरेको छ। वार्षिक रुपमा पर्यटक वृद्धि गर्दै संरक्षण क्षेत्रलाई पर्यटकीय हबको रुपमा बिकास गर्न स्थानीय सरकार वडा र परिषदसङ्ग सहकार्य गर्दै आगामी वर्षमा बिस्तार गर्ने गरि कार्यक्रम तयार पारिएको छ।

बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा पर्यटकहरू नियमित आउने गरेका छन् । टिकट काटेर मात्र प्रवेशको अनुमति पाइन्छ । दशै तिहार जस्ता चाडपर्वमा कृष्णसार हेर्ने पर्यटकको चाप अत्यधिक हुन्छ । अवलोकनका क्रममा कृष्णसारलाई लखेट्न ,छुन हो हल्ला गर्न तथा फोहोर फाल्न पाइँदैन ।

कृष्णसार संरक्षण क्षेत्रमा भाले ३७, पोथी १२२, र बच्चा ४० गरि १९९ कृष्णसार रहेका छन् । सरकारले कृष्णसार संरक्षण क्षेत्र घोषणा गरि दुर्लभ वन्यजन्तु संरक्षण गर्न थालेको छ । पर्यटकीय अवलोकनका लागि नेपालीलाई १ सय, सार्क मुलुक ५ सय र विदेशी पर्यटकले २ हजार रुपैयाँ दस्तुर बुझाउनु पर्छ ।

कार सफारी १ हजार ५ सय र जिप सफारीको लागि ३ हजार रुपैयाँ कायम गरिएको छ । दश बर्ष मुनिका स्वदेशी तथा विदेशी बालबालिका र सत्तरी बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क छ ।

बर्दिया खैरापुरको प्राकृतिक बासस्थानमा रहेका दुर्लभ वन्यजन्तु कृष्णसार हेर्न आउने पर्यटक बढेसँगै राजस्व पनि बढेको छ । त्यसैले सबै मिली कृष्णसारको संरक्षण गर्दै पर्यापर्यटन प्रवर्द्धनमा हातेमालो गर्न आवश्यक छ। (रेडियो नेपाल)

Translate »