कर्णालीका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्न सुझाव

सुर्खेत । दक्ष प्राविधिक जनशक्तिसहित कर्णालीका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्न प्रदेश स्तरीय खानेपानी गुणस्तर निगरानी समितिले सुझाव दिएको छ । समितिको सोमबार स्वास्थ्य सेवा निर्देशनालय कर्णली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चिताको मापनका लागि दक्ष प्राविधिक जनशक्तिसहित प्रदेशका सबै पालिकामा पानी परीक्षण प्रयोगशाला स्थापना गर्नुपर्ने सुझाव दिएको हो ।

प्रदेशका सबै जिल्ला सदरमुकाममा पानी परीक्षण प्रयोगशाला स्थापना गरेपनि अब त्यसलाई शुद्ध पानीको मापनको सुनिश्चि गर्न पालिका स्तरसम्मै परीक्षणको व्यवस्था मिलाउन आवश्यक रहेको निगरानी समितिको ठहर छ । कर्णालीका अधिकांस जनसंख्या अहिलेपनि ग्रामीण क्षेत्रमै बसोबास गर्ने हुँदा पालिका स्तरबाटै शुद्ध पानीको मापन गर्न सके यकिन तथ्यांकको मूल्यांकनसँगै रणनीति तय गर्न सरकार नै सहज हुने समितिका पदाधिकारीहरु बताउँछन् ।

उनीहरुले पालिका स्तरमै पानी परीक्षण प्रयोगशाला स्थापनाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले समन्वयकारी भूमिका खेल्न आवश्यक रहेको बताए । अहिले कतिपय जिल्लामा पानी परीक्षण प्रयोगशाला राखिएपनि त्यहाँसम्म सबै उपभोक्ताहरुको पहुँच पुग्न नसकिरहेकाले जन–जनसम्म शुद्ध पानीको सुनिश्चितता गर्न स्थानीय स्तरमै पानी परीक्षणको व्यवस्था गर्न पालिकासँगै प्रदेश सरकारले रणनीति बनाउन आवश्यक रहेको औल्याईएको छ ।

सरकारले खानेपानीको मापनका लागि खरिद गरेका कतिपय उपकरण विभिन्न जिल्लाका सदरमुकामका बन्द कोठामा थन्किएका कारण उपयोगिता बढाउन स्थानीय स्तरमै स्थानीयको स्वामित्वमा प्रयोगशाला स्थापना गर्नु पर्ने सुझाव समितिको छ । तत्काल नै पानी परीक्षणको कामलाई व्यवस्थित तथा आधुनिक तरिकाले जाँच गर्ने उपकरण पालिका स्तरमै स्थापना गरी शुद्ध पानी मापनको काम सुरु गर्न जरुरी रहेको समितिका पदाधिकारीले बताएका छन् ।

मानव जीवनसँग जोडिएको पानी जस्तो महत्वपूर्ण पाटोलाई व्यवस्थित गरेर लैजाने उद्देश्यका साथ स्थानीय स्तरबाटै गर्न सके त्यो बढी प्रभावकारी हुने ठहर गरिएको छ । बर्षेनी भारी मात्रामा खानेपानीका योजनाहरु निर्माण हुने तर पानी शुद्धीकरणको अवस्था जानकारी नहुँदा आम नागरिकले समस्य भोगिरहेको तथ्य हाम्रो सामु रहेको भन्दै समितिले आयोजना निर्माणका साथै पानीको शुद्धीकरणलाई समेत महत्वपूर्ण पाटोको रुपमा लिएको छ ।

Translate »