एमाले दैलेखको अध्यक्षका लागि १० जना आकाङ्क्षी
दैलेख । नेकपा एमाले दैलेखको नेतृत्वमा पुग्न दर्जन भन्दा बढी नेता आकाङ्क्षी देखिएका छन् । यही माघ २७ गतेदेखि सुरु हुने एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनबाट नेतृत्वमा पुग्नका लागि एक दर्जन बढी नेताले आकाङ्क्षा देखाएका हुन् । अध्यक्षको दाबी गरेका सबै नेताहरू लामो समयदेखि एमालेको साङ्गठनिक, वैचारिक रूपमा परिपक्व मानिएका नेताका रूपमा परिचित छन् ।
अधिवेशन आउन केही दिन बाँकी रहँदा जिल्लाको नेतृत्व लिन नेताहरूको दौडधुप तीव्र बनेको छ । जिल्लाको नेतृत्व लिन चाहने नेताहरू कार्यकर्ता माझ आफूले जिल्लाको नेतृत्व लिन चाहना गरेको भन्दै आफ्ना एजेन्डासहित प्रस्तुत हुन थालेका छन् ।
जिल्ला अध्यक्षका लागि हालका पार्टी उपाध्यक्ष प्रेमबहादुर बुढा प्रमुख दाबेदारका रूपमा देखिनु भएको छ । कार्यवाहक पार्टी अध्यक्षसमेत रहनु भएका बुढा राजनीति हिसाबले परिपक्व नेता मानिनु हुन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा भैरवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित बुढासँग लामो राजनीतिक अनुभव पनि छ ।
यस्तै अध्यक्ष पदका अर्का बलिया दाबेदार सूर्यबहादुर शाही यस अघि ७ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थिए । एमालेमा पुराना र शालीन नेताका रूपमा परिचय बनाएका शाही जिल्ला विकास समिति दैलेखको उपसभापति समेत भईसकेका छन् । यसअघि भूमि समस्या समाधान आयोग दैलेखको अध्यक्षसमेत भइसकेका शाहीसँग पनि राजनीतिको लामो अनुभव छ ।
एमाले दैलेखको अध्यक्षका दाबेदार कर्णाली प्रदेशसभाका पूर्व सदस्य सुशीलकुमार थापा पनि हुन । जनता माझ राम्रो छवि बनाएका थापा सङ्गठन निर्माणमा परिपक्व नेता मानिन्छन् । युवा पुस्तामा लोकप्रिय उनी पार्टी निर्माण तहमा युवाको सहभागिता उल्लेख्य हुनुपर्ने बताउँदै आएका छन् ।
यसैगरी एमाले दैलेखका नेता धीरबहादुर शाहीसमेत पार्टी अध्यक्षका बलिया आकाङ्क्षी हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ठाँटिकाँध गाउँपालिकाको अध्यक्षमा निर्वाचित उनी एमाले दैलेखका पुराना नेता हुन् । सङ्गठन निर्माणमा विगतदेखि उल्लेख्य भूमिकामा रहेका उनी जनतामाझ लोकप्रिय छन् ।
अध्यक्षका लागि एमालेका पुराना नेता रत्नबहादुर खड्कासमेत चुनावी मैदानमा उभिने तयारीमा छन् । उनीसँग लामो राजनीति अनुभव छ । खड्का पनि साङ्गठनिक हिसाबले परिपक्व नेता मानिन्छन् । उनी दैलेखको पहिलो नारायण नगरपालिकाको २०५४ मा उपमेयर २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भईसकेका छन् ।
यस्तै एमाले दैलेखको निवर्तमान पार्टी सचिवसमेत रहेका तिलक रिजाल अध्यक्षको दाबेदारको रूपमा देखिएका छन् । पार्टीमा राम्रो पकड रहेको मानिने रिजाल यस अघि सम्पन्न प्रदेश सभा निर्वाचनमा दैलेख क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा पराजित पराजित भएका थिए ।
यसैगरी एमाले दैलेखको अध्यक्षमा जिल्ला समन्वय समिति दैलेखका पूर्व प्रमुख प्रेमबहादुर थापा समेत अध्यक्षको आकाङ्क्षी देखिएका छन् । पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट एक कार्यकाल उपाध्यक्षका रूपमा काम गरी सकेका थापा एमालेका पुराना नेता हुन् ।
पार्टीको छैटौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित चामुण्डा विन्दवासिनी नगरपालिकाका पूर्व मेयर सूर्यबहादुर शाही समेत यसपालि अध्यक्ष पदका आकाङ्क्षी छन् । उनी एमालेमा अध्ययनशील, शालिन र प्रभावशाली नेताका रूपमा परिचित छन् ।
यस्तै एमालेका नेता नन्दकिशोर बस्नेतको पनि अध्यक्षका लागि चर्चा हुने गरेको छ । बस्नेतले लामो समय औद्योगिक विकास लिमिटेडको जिएम भएर काम गरिसकेका छन् ।
एमाले दैलेखका जनसंगठन विभाग प्रमुख गणेश रेग्मीको पनि अध्यक्षका लागि चर्चा हुन थालेको छ । लामो समय शिक्षण पेसामा आबद्ध रेग्मी पार्टीका विभिन्न पदमा रही काम गरिसकेका छन् । रेडियो नेपाल