इंडोनेशियामा हुने कार्यशालाका लागि सुर्खेतको जन नमुना माविकी छात्रा उपमा शाहीको छनौट

सुर्खेत । इंडोनेशियाको पोंटियानकमा हुन लागेको जीवन सीप शिक्षा कार्यशालाका लागि सुर्खेतको जन नमुना माध्यमिक विद्यालयकी छात्रा उपमा शाही छनौट भएकी छन् । आउँदो मार्च ५–६ तारिकमा इंडोनेशियाको पोंटियानकमा हुन लागेको युवाहरुको लागि लैङ्गिक संवेदनशील विश्वव्यापी नागरिकता र जीवन सीप शिक्षा कार्यशालाका लागि शाहीको छनौट भएको जन नमुना माध्यमिक विद्यालयले जनाएको छ ।
जोखिममा परेका युवाहरुसम्म पुग्न इन्डोनेसिया, नेपाल र पाकिस्तान लगायतका देशहरुमा ‘युवाका लागि लैङ्गिक–संवेदनशील विश्वव्यापी नागरिकता र जीवन सीप शिक्षा’ परियोजना समापन कार्यक्रममा सहभागी हुन नेपालबाट शाहीको छनौट भएको हो । कार्यशालामा युवाहरुलाई गुणस्तरीय शिक्षामा पहुँच, बेरोजगारी अन्त्य, अर्थपूर्ण सामुदायिक संलग्नता, रोजगार बजारको लागि आवश्यक शिक्षा, अनुभव र सीपलगायतका बारेमा उनले त्यहाँ आफ्नो धारण राख्नेछिन् ।

इंडोनेशियाको पोंटियानकमा हुने कार्यशालामा कक्षा दशमा अध्ययनरत शाहीको छनौट भएको प्रति विद्यालयको मान, सम्मान, इज्जत र ख्याती बढाउन सफल भएकोमा सम्पूर्ण विद्यालय परिवार गौरवान्वित महसुस गरेका छौं,’ जन नमुना माविले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।
इंडोनेशियामा हने कार्यशालाका लागि नेपालबाट छनौट हुन सफल छात्रा, अभिभावकज्यू, फोकल पर्सन शिक्षक देवप्रकाश सापकोटा सहित सम्पूर्ण शिक्षक कर्मचारीलाई विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले हार्दिक बधाई दिएका छन् । विद्यालयको प्रगतिको एउटा सूचक हुन सफल छात्रा उपमा शाहीलाई बधाई दिँदै उनले थप उत्तरौत्तर प्रगतिको समेत शुभकामना व्यक्त गरे ।