अवैध हातहतियारसहित १३४ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक समेत छन् ।
प्रहरीले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाबाट १७ जना, कोशी प्रदेशबाट १८ जना, मधेस प्रदेशबाट २५ जना, बागमती प्रदेशबाट १३ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट २१ जना, कर्णाली प्रदेशबाट १२ जना र सुदूरपश्चिम प्रदेशबाट १४ जना पक्राउ परेका छन् । यस अवधिमा अवैध हातहतियार अन्तर्गत जम्मा ९४ मुद्दा दर्ता भएका छन् ।

प्रहरीले अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सक्रियता बढाएको उल्लेख गरेको छ ।

‘नेपाल प्रहरीले सूचना संयन्त्रलाई बलियो बनाउँदै काम गरेको कारण हातहतियार कारोबारी र हतियार नियन्त्रणमा लिन सकिएको हो,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले भने, ‘सरोकारवाला निकायबीचको सहकार्यले यस कार्यमा थप मद्दत पुगेको छ । हतियारको जोखिमबारे सर्वसाधरणलाई चेतना जगाउन सफल भएपछि अवैध हतियार राखेका व्यक्तिहरूले समेत हतियार प्रहरीमा बुझाएका छन् ।’ उनले

विभिन्न सम्भावित ठाउँमा सबै प्रकारका अवैध हतियार नियन्त्रण गर्न विशेष टोली समेत परिचालन गरिएको जनाए । उनका अनुसार पेस्तोल छ थान, रिभल्वर चार थान, कटुवा पेस्तोल १७ थान, बन्दुक ६ थान, भरुवा बन्दुक ८१ थान र एयर गन २ थान गरी जम्मा १ सय १६ थान अवैध हतियार बरामद भएका छन् ।

बरामदमध्ये काठमाडौं उपत्यकाबाट सात थान हतियार र १४ राउण्ड गोली, कोशी प्रदेशबाट १८ थान हतियार र १५ राउण्ड गोली, मधेस प्रदेशबाट १४ थान हतियार र ६३ राउण्ड गोली, बागमती प्रदेशबाट १८ थान हतियार र २१ राउण्ड गोली, गण्डकी प्रदेशबाट ९ थान हतियार, लुम्बिनी प्रदेशबाट २५ थान हतियार र ७१ राउण्ड गोली, कर्णाली प्रदेशबाट १३ थान हतियार र छ राउण्ड गोली तथा सुदूरपश्चिम प्रदेशबाट १२ थान हतियार र ३७ राउण्ड गोली छन् ।

जसमा भरूवा बन्दुक र कटुवा पेस्तोलको सङ्ख्या अन्यको भन्दा बढी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारीमा यस्ता हातहतियार प्रयोग भएको देखिन्छ ।

Translate »