लोक नृत्य संरक्षणमा जुटे निजी क्षेत्रका स्कूल

राष्ट्रिय लोक नृत्य छनौट प्रतियोगिता

सुर्खेत । परम्परागत रुपदेखि चलन चल्तीमा रहेका लोक संस्कृती दिनानु दिन लोप भईरहेको अवस्थामा सुर्खेतमा भने निजी क्षेत्रका वोडिङ्ग स्कूलहरुले संरक्षण र सववद्र्धनमा जोड दिएका छन् । लोक संस्कृति संरक्षण, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले जिल्ला स्तरीय दोस्रो प्याब्सन अन्तरविद्यालय राष्ट्रिय लोक नृत्य प्रतियोगिता आयोजना गरी परम्परागत लोक संस्कृती संरक्षण सम्बद्र्धनमा टेवा दिएका हुन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ड खनालले आफ्नो लोक संस्कृति तथा परम्परा लोप भइरहेका बेला निजी विद्यालयहरुले राष्ट्रिय लोक नृत्य छनौट प्रतियोगिता नै आयोजना गरेर तीनको संरक्षण गर्नु सराहनिय कार्य भएको बताए । उनले लोक संस्कृती हाम्रो गहना भएकोले तिनको प्रवर्द्धन र विकासमा सदैब लाग्ने प्रतिवद्धता जनाए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का केन्द्रिय उपाध्यक्ष नैनसिंह खत्रीले कर्णालीको संस्कृति आफैमा लोकसंस्कृतीको धनी भएपनि पछिल्लो समय लोप हुदै गएको प्रति चिन्ता ब्यक्त गरे । उनले लोपोन्मुख राउटे, थारु, मगरलगायत जातजातीका परम्परागत रुपमा अंगाल्दै आएको लोक नृत्यलाई व्यावसायीक रुपमा अघि बढाई स्वरोजगारमूखि बनाउन सरकारले लगानी गर्न आवश्यक रहेको औल्याए ।

उनका अनुसार आगामी दिनमा लोक नृत्य तथा लोक संस्कृतिको संरक्षणमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) थप प्रतिवद्ध भएर अघि बढ्नेछ । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका शिक्षा प्रमुख धिरेन्द्रप्रसाद लम्साल, प्याव्सनका पूर्व केन्द्रीय उपाध्यक्षद्वय नवराज गुरुङ र बालदीप कँडेल, प्याव्सनका प्रदेश सचिव वेदप्रकाश ढकाल, जिल्लाका सचिव हरिलाल खड्का, नगर अध्यक्ष हुमलाल भट्टराईलगायतले लोक संस्कृतिलाई व्यवसायिकरुपमै अघि बढाएर आत्मनिर्भर बनाई संस्कृतिको संरक्षणमा लाग्न जरुरी भईसकेको औल्याए ।

लोक नृत्यमा सिद्धपाईला स्कूल प्रथम

राष्ट्रिय लोक नृत्य छनौट प्रतियोगितामा सुर्खेतको वीरेन्द्रनगर स्थित सिद्धपाईला इंग्लिस मिडियम सेकेण्डरी स्कूल प्रथम भएको छ । जिल्ला स्तरीय दोस्रो प्याब्सन अन्तर विद्यालय राष्ट्रिय लोक नृत्य छनौट प्रतियोगितामा राउटे नृत्यको उत्कृष्ट नमूना पेश गर्दै सिद्धपाईला स्कूल प्रथम भएको हो ।

नृत्य प्रतियोगितामा सूर्योदय वोडिङ स्कूल द्वितीय भएको छ भने सेन्ट मेरिज को–एड स्कूल तृतीय भएको नृत्य प्रतियोगिता निर्णायक मण्डलका अध्यक्ष तथा वरिष्ठ संगीतकार गंगा केसीले जानकारी दिए ।

प्रतियोगितामा गोल्डेन वर्ड एकेडेमी र ब्राईट ल्याण्ड एकेडेमीका प्रतियोगिहरुले समेत शानदार नृत्य प्रर्दशन गर्न सफल भएको चर्चित नृत्य निर्देशक कुलमान नेपालीले बताए । उनले पछिल्लो समय लोक नृत्य तथा लोक संस्कृतिप्रति सर्वसाधारणको समेत मौलिक रुझान बढ्दै गईरहेको जनाए ।

Translate »