१७ वर्षदेखि निरन्तर सिख्दैछौं : सीएनएन हिरो म्यागी डोयनी

सुर्खेत । बेसहारा नानीबाबुकी ‘साझा आमा’ का रुपमा चर्चित म्यागी डोयनीले सुर्खेतमा विगत १७ वर्षदेखि निरन्तर नयाँ सिखिरहेको बताएकी छन् । सोमबार वीरेन्द्रनगरमा कोपिला भ्याली सेवा समाजको सामाजिक लेखापरीक्षण कार्यक्रममा बोल्दै उनले भनिन्, ‘काम गर्ने दौरानमा थुप्रै गल्तीहरु हुन्छन् । ती गल्तिहरुबाट पाठ सिख्दै अगाडि बढ्दै निरन्तर मानव सेवाको सत्यकर्ममा जुटिरहेका छौं ।’
अमेरिकाको न्यु जर्सीकी डोयनीले सुर्खेतमा कमजोर बालबालिका र उनीहरुको परिवारका लागि शिक्षा, महिला केन्द्र, सुरक्षित आवास र बालगृहको व्यवस्था गर्दै आईरहेकी छिन् । सन् २०१५ की सीएनएन हिरो डोयनीले भनिन्, ‘हामीले राम्रो काम गर्ने दौरान नचाहाँदापनि धेरै पटक गल्ती भएका छन् । गल्ती गर्नु ठूलो कुरा रहेनछ । गल्तीबाट पाठ सिख्नु ठूलो कुरा हो । कहिले फेल त कहिले काहीं पास पनि भएका छौं । यसरी नै निरन्तर नयाँ सिख्ने प्रक्रिया चलिरहेको छ ।’
उनले चलाएको संस्थाको सामाजिक लेखापरीक्षण मार्फत औल्याइएका सल्लाह, सुझावलाई हृदयदेखि नै आत्मसात गर्दै अधिकतम् कार्यान्वयन गर्ने प्रतिबद्धता जनाईन् । कार्यक्रममा जिल्ला समन्वय प्रमुख गंगाराम सुनारले कोपिला भ्याली स्कूल, म्यागी डोयनी, टोपबहादुर मल्ललगायतले समाज सुधारमा समेत उल्लेखनिय कार्य गरेको बताए । उनले संस्थाका लागि चाहिने प्रत्यक्ष तथा अप्रत्यक्ष सल्लाह, सहयोग, समन्वय गर्न आफु जतिबेला पनि तयार रहेको जनाए ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले कोपिला भ्याली सेवा समाज र डोयनीले वीरेन्द्रनगरलाई प्लाष्टिक फोहोर मुक्त बनाएर ‘ग्रीन सीटी’ बनाउने प्रस्ताव वीनपाका लागि स्वागतयोग्य कदम भएको बताए । उनले सरसफाईलाई उच्च प्राथमिकतामा राखेर साइकल लेन, हरित पार्क, जस्ता कार्यक्रम वीनपाले अघि सारेकाले कोपिला भ्यालीसँग सहकार्य तथा समन्वय गर्दै वीनपा अघि बढ्ने जिकिर गरे ।
उनका अनुसार छिट्टै नगर प्रहरी भर्ना गरी पालिका क्षेत्राधिकार भित्र नियमन, अनुगमन तथा कार्यान्वयनमा वीनपा अघि बढ्नेछ । कोपिला भ्याली सेवा समाजका अध्यक्ष टोपबहादुर मल्लले विभिन्न निकाय र दातृ संघसंस्थाको सहयोगमा विभिन्न परियोजना, कार्यक्रम सञ्चालन गरी अधिकतम् विपन्न परिवारलाई लाभान्वित बनाउने कार्य जारी रहेको बताए । सामाजिक लेखापरीक्षण प्रतिवेदन नमस्कार शाहले प्रस्तुत गरेका थिए ।