कर्णालीमा वर्षा र हिमपात : कृषकहरूलाई राहत

मुगु । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा गएराती देखि वर्षा र हिमपात सुरु भएको छ । केही दिन यता अत्यधिक चिसो बढेपछि आइतबार रातिदेखि मुगु लगायत हुम्ला, जुम्ला,डोल्पा लगायतका जिल्लाहरूमा वर्षासँगै हिमपात सुरु भएको हो । विशेष गरि उच्च हिमाली बस्तीहरूमा हिमपात भएको छ भने बेसी तिरको भागमा पानी परेको छ । रारा लगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको छ । मुर्माटप, चुचेमारा, घुच्ची, ताल्च, चंखेली, लखूँ, मुन्दु, लिउडी, बाम , चाक्पाँडे, सोरूकोट, घट्टललेक, तलिलेक, मह, दोल्फु, उपल्लो मुगु , किम्री, ताखा, खारी, र हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट लगायत डोल्पा जिल्लाका उच्च हिमाली भेगमासमेत भारीमात्रामा हिमपात भएको छ । यस अघि माघ महिनाको तेस्रो हप्तामा कर्णालीमा थोरै वर्षा र हिमपात भएको थियो ।

खेतीपाती गर्ने कृषकका लागि त्यतिखेरको वर्षा र हल्का हिमपातले थोरै भएपनि राहत मिलेको भएपनि किसानहरू सन्तुष्ट थिएनन् । सोमबार राती देखिको वर्षा र हिमपातले भने कृषकका लागि ठुलो राहत मिलेको स्थानीयहरू बताउँछन् । लामो समय पर्याप्त मात्रामा वर्षा र हिमपात नहुँदा वातावरण बिग्रिएर रोगब्याधि फैलिनुका साथै खोलानाला र पानीका मुहानसमेत सुकेको थिए । हिउँद ऋतु सकिनै लाग्दा भएको हिमपातलाई कर्णाली बासी कृषक लगायत मुगु बासी जनताहरूलाई विशेष राहत मिल्ने गरेको बताइन्छ ।
खेत गरामा सुकेका हिउँदे बाली पलाउने र बालीनाली सप्रने आशमा कृषकहरू रहेका छन् । जताततै सुख्खा मौसमले मानिस हरूमा भाइरल रुघाखोकीका बिरामीहरूको सङ्ख्या बढ्दै गएको थियो । यस हिमपातले मुगु लगायत साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र मध्य र सुदूर पश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठुलो राहत मिलेको छ । वर्षा र हिमपात भएपछि साबिक कर्णालीको हवाई सेवा समेत अवरुद्ध भएको छ । हुम्लाको सदरमुकाम सिमिकोट लगायत उच्च स्थानका बस्तीहरूमा व्यापक हिमपात भएपछि स्थानीय जनजीवन अत्यन्तै कष्टकर बनेको बनेको समिकोट निवासी नबिना चन्दले बताए । यसपटकको हिमपातले बालीनाली सप्रिने आसमा कृषकहरू रहेको बताए । रेडियो नेपाल