महिलाहिंसाका घटना बढे: इन्सेक

काठमाडौं । सन् २०२३ को मानवअधिकार उल्लंघन सूचकांकमा महिलामाथि हुने हिंसाका घटनामा कमी आएको देखिएन। चाहे त्यो घरेलु हिंसाका नाममा होस् वा बलात्कारका घटना । ‘बोक्सी’ को आरोपमा महिलामाथि हुने दुर्व्यवहार नरोकिएको इन्सेकले प्रकाशन गरेको मानवअधिकार वर्ष पुस्तकमा समेटिएको छ।

इन्सेकका अनुसार एक वर्षमा महिला हिंसासम्बन्धी पाँच हजार ९०३ घटना भए । जसमा बेचबिखन तथा ओसारपसार, बोक्सीको आरोप, बलात्कार, बलात्कार प्रयास, घरेलु हिंसा, यौन दुव्र्यवहार, प्रसूति सेवा र बेचबिखन तथा ओसारपसार प्रयास छन् ।

पारिवारिक अपराधबाट १४९ जनाले ज्यान गुमाएको वर्ष पुस्तकमा उल्लेख छ । जसमध्ये ४० जना पुरुष छन् । ‘सन् २०२३ मा मात्रै पतिको हातबाट १०९ महिलाको हत्या भयो,’ इन्सेकका अध्यक्ष कुन्दन अर्यालले पुस्तकमा लेखेका छन् । एक वर्षमा ४५ जना महिला दाइजो सम्बन्धी हिंसामा परे ।

दाइजोकै निहुँमा सात जना महिलाको हत्या भएको देखिन्छ। सर्लाहीमा १५, सप्तरीमा १०, धनुषामा सात, कपिलवस्तुमा ६, बारामा तीन, सुर्खेतमा दुई, बाँके, चितवन, कास्की, काठमाडौं, महोत्तरी, रौतहट, रूपन्देही, सुनसरी र स्याङ्जामा एक–एकवटा हिंसाका घटना भएको सो पुस्तकमा उल्लेख छ । (नागरिक न्यूज)

Translate »