भेरीगंगामा पञ्चवर्षिय वन व्यवस्थापन कार्यक्रम सञ्चालनका लागि सार्वजनिक सुनुवाई

 

सुर्खेत । पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा पञ्चवर्षिय वन व्यवस्थापन कार्यक्रम सञ्चालन हुने भएको छ । वन क्षेत्र तथा जैविक विविधताको दिगो व्यवस्थापनका लागि पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजना कार्यान्वयनका लागि अहिले प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्न लागिएको हो ।

डिभिजन वन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत सोमबार भेरीगंगा नगरपालिका क्षेत्रका प्रभावित स्थानीय सरोकारवालाहरुको राय सुझाव संकलन कार्य अघि बढाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजना स्वीकृत भएपश्चात उपभोक्ताहरुको आयआर्जनमा योगदान पुग्ने, नगर क्षेत्रमा वन पैदावारको आपूर्ति सहज हुने, वन पैदावारको बिक्री वितरणबाट राज्यको राजश्व आम्दानीमा वृद्धि हुने, वन तथा वन्यजन्तुका साथै जैविक विविधताकै संरक्षण एवं जलवायु परिवर्तनका प्रभावहरु न्यूनीकरण हुने विश्वास राखिएको छ ।

वन कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले नगरक्षेत्र भित्रका वनको दिगो व्यवस्थापन, संरक्षण तथा सम्वद्र्धनका लागि स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता विनाको जस्तोसुकै कार्यक्रम पनि अधुरो हुने बताए । उनले. वनसँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय बासिन्दाहरुको व्यापक सहभागिताले नै दिगो वन व्यवस्थापन रणनीति सफल हुने विश्वास व्यक्त गरे ।

उनका अनुसार जङ्गलमा हुने अवैध चोरी निकासी तथा वन अतिक्रमण रोक्न, वन विनाश कार्यलाई रोकथाम एवं नियन्त्रण गरी स्थानीय बासिन्दाको वन पैदावारको आवश्यकता सतत् रुपमा परिपूर्ति गर्नका लागि वन कार्यालय, सामुदायिक वनका पदाधिकारीसँगै उपभोक्ताको जवाफदेहितासहितको सक्रिय सहभागिताले मात्र पञ्चवर्षिय वन व्यस्थापन कार्यक्रम सफल बनाउन सकिन्छ ।


सार्वजनिक सुनुवाई कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले स्थानीय सरोकारवालाकै सल्लाह, सुझाव तथा आग्रहलाई मध्यनजर गरी वन ऐन, नियम र कानूनको परिधि भित्र रहेर पञ्चवर्षिय वन व्यवस्थापन कार्यक्रमको रणनीति तय गरिने बताए । उनले दिगो वन व्यवस्थापनको सपनालाई साकार पार्न ‘हाम्रो वन, समृद्ध जीवन’ को नारा कार्यान्वयनका लागि प्रत्यक्ष लाभग्राहीको सहभागिता अपरिहार्य रहेको औल्याए ।

‘पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजनाका लागि सार्वजनिक सुनुवाई मार्फत संकलित सरोकारवालाहरुको राय सुझाव संकलन गरी प्रतिवेदन तयार गरिनेछ,’ उनले भने, ‘वन तथा वन्यजन्तुको संरक्षणको पाटोमा उल्लेखनीय योगदान पु¥याउने उद्देश्यले कार्ययोजना निर्माण प्रयोजनार्थ प्रारम्भिक वातावरणीय परीक्षण तयार गर्न लागिएको हो ।’ उनका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनले दिने दिशा निर्देशन अनुरुप नै पञ्चवर्षिय वन व्यवस्थापन कार्यक्रम कार्यान्वयनमा जानेछ ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रशान्त श्रेष्ठले पञ्चवर्षिय वन व्यवस्थापन रणनीति तय गर्नका लागि नै भेरीगंगा नगरपालिका भित्रका सरोकारवालाहरुको राय सुझाब संकलन गर्नका लागि नै सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको जनाए । उनले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन मार्फत दिगो वन व्यवस्थापनका लागि पार्ने सामाजिक तथा आर्थिक विकासलगायतका बारेमा समेत अध्ययन गरिने बताए ।

पञ्चवर्षीय वन व्यवस्थापन कार्ययोजनाको कार्यान्वयनले पार्ने सकारात्मक तथा नकारात्मक प्रभावहरु, वातावरणीय व्यवस्थापन योजना तथा डिभिजन वन कार्यालयको प्रतिवद्धता लगायतका विषयमा छलफल तथा आवश्यक निर्णयहरु भएको भेरीगंगा सव डिभिजन वन कार्यालयका वन अधिकृत भोजप्रसाद उपाध्यायले जानकारी दिए ।

कार्यक्रममा भेरीगंगा नगरपालिका भित्रका सामुदायिक वनका पदाधिकारीहरु, वन तथा वातावरण सम्बन्धि संघसंस्था, नगरपालिकाका भित्रका जनप्रतिनिधि एवं विभिन्न वडाका वडाध्यक्ष तथा सदस्यहरुसँगै वन सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

Translate »