रेडक्रसको तुलना अरुसँग गर्न सकिँदैन् : रिचर्ड ब्लेविट

नेरेसो कर्णाली प्रदेश कार्यालय भवनको उद्घाटन

सुर्खेत । व्रिटिस रेडक्रस सोसाइटीका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक रिचर्ड ब्लेविटले रेडक्रसको तुलना अरुसँग गर्न नसकिने बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश कार्यालयको नव र्निमित भवनको उद्घाटन गर्दै उनले विशुद्ध मानवताको भलाईका लागि रेडक्रसको तुलना अरुसँग गर्न नसकिने बताएका हुन् ।

विपद्मा परेका मानिसहरुको सेवामा नेपाल रेडक्रस सोसाइटीले पु¥याएको योगदानको प्रशंसा गर्दै उनले निरन्तर सहयोग, तथा सहकार्य जारी राखिने जनाए । विहीबार कर्णाली प्रदेश कार्यालय भवनसँगै भर्चुअल माध्यमबाट लुम्बिनी प्रदेश कार्यालय भवनको समेत उनले उद्घाटन गरेका हुन् । ब्रिटिस तथा स्वीस रेडक्रसको करिब २ करोड रुपैयाँको सहयोगमा निर्मित दुई तले भवन का १६ वटा कोठाहरु रहेका छन् । तल्लो तलामा गोदाम बनाईएको छ भने माथिल्लो तलामा कार्यालय सञ्चालन गरिनेछ ।

अत्याधुनिक सेवा सुविधासहितको भूकम्परहित भवन निर्माण कार्य नौ महिनामा सम्पन्न भएको हो । भवन उद्घाटन कार्यक्रममा स्वीस रेडक्रसका नेपाल प्रतिनिधि कमल बरालले प्रदेश रेडक्रसको आफ्नै भवन निर्माणले  संबिधानको भावनाअनुसार रेडक्रसलाई संघीय ढाँचामा विकास गरेर अझै प्रभावकारी सेवा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य रामलाल आचार्यले संघीयता पछि पहिलो पटक कर्णाली र लुम्बिनी प्रदेशमा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक कार्यालय भवन निर्माण भएसँगै अब बाँकी प्रदेशहरुमा समेत बनाउने तर्फ आवश्यक पहल गर्न जरुरी रहेको औल्याए । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष लिलाराम सुवेदीले संघीयतामा प्रदेशको भूमिकालाई प्रभावकारी बनाउन विभिन्न दातृनिकाय संघसंस्थाको सहयोग तथा समन्वय निरन्तर अपरिहार्य रहेको बताए ।

ब्रिटिस तथा स्वीस रेडक्रसको सहयोगको प्रशंसा गर्दै उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले नेपालमा रेडक्रसको भूमिकालाई थप सक्रिय र सवल बनाउन आफ्नै भौतिक संरचना निर्माण गर्ने कार्यहरुको प्रयास चलिरहेको बताए ।

उनले विभिन्न दातृनिकाय संघसंस्थासँगै तीनै तहका सरकारहरुसँग समन्वय तथा सहकार्य भईरहेको जनाए । कार्यक्रममा भगवती माई गाउँपालिका दैलेखका उपाध्यक्ष मिना खड्काले नेपाल रेडक्रस सोसाइटीले मानवताको सेवामा पु¥याई रहेको योगदान अतुलनिय रहेको बताईन् । भवन उद्घाटन कार्यक्रमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश सदस्य अमृता सापकोटाले गरेकी हुन् ।

Translate »