मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले साधेको प्रश्नमा उनले अहिलको अवस्थामा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका हुन् ।


एमालेले बालकुमारी प्रकरणमा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री प्रकाश ज्वाला, टेलिकम्युनिकेशन ट्राफिक मनिटर एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामस्क) प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री (तत्कालीन सञ्चारमन्त्री) मोहन बस्नेत र रामग्राम प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ। अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गरे।

समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए । विपक्षी सांसदहरुले सरकारसँग जवाफ माग गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकलाई छल्दै आएका छन् । अन्नपूर्ण पोष्ट

Translate »