अख्तियारले डामेका, आयोगले पोलेका सबैलाई घर पठाइदिऔं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विवादित मन्त्री तथा सांसदहरूलाई घर पठाउनुपर्ने सुझाव दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले विवादमा मुछिएका सांसद तथा मन्त्रीहरूलाई घर पठाएर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।
प्रतिपक्षी दलहरूले विभिन्न मुद्दामा मुछिएका मन्त्रीहरूको राजीनामा माग गर्दै संसदमा विरोध जनाएपछि कांग्रेस सांसद थापाले दाग लागेका मन्त्री तथा सांसदहरूलाई राजीनामा गर्न लगाएर छानबिन गर्नुपर्ने उल्लेख गरे ।

‘विगत केही दिनअघिदेखि यताकोले उता बसेको दागी गर्ने उता बसेकाले यता दागी देखाउने दोहोरो चलेको छ । यही पाराले न संसद राम्रोसँग चल्ने भयो। मुल विषय छायामा पर्ने भयो। आसनको दायाँ बसेको होस् कि बायाँ बसेको होस् काखेको होस् कि पाखेको होस् । अख्तियारले डामेको ,आयोगले पोलेको, सरकारी जग्गामा आँखा परेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऔं ।
सहकारीलाई ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइ दिएर अनुसन्धान गर्न दिऔं । यत्ति गर्दा के होला। दोषी देखिए कारवाही होला निर्दोष देखिए फर्केर आउनुहोला । फूलमाला लगाएर स्वागत गरौंला,’ उनले भने,’ अलिअलि सफा गर्न सकिए यहाँ मिटरब्याजका बारेमा, दूध किसानले मूल्य नपाएको बारेमा, एनसेलको बारेमा जमेर छलफल गर्न सकिन्थ्यो होला । होइन भने उताकोले उता देखाउने उताकोले यता देखाउने दोहोरी चलिरहन्छ ।’ अन्नपूर्ण पोष्ट