जाजरकोट र रुकुम पश्चिमका पालिका संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले भूकम्पबाट क्षतिग्रस्त जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

त्यस्तै सरकारले सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद फागुन १६ गतेदेखि फागुन मसान्तसम्म म्याद थप गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै चितवन भरतपुर महानगरकी प्रमुख रेनु दाहाललाई प्रदान गर्ने अन्तर्राष्ट्रिय मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताइन् ।