सत्ता र शक्ति सधै सकैको मुठ्ठीमा हुँदैन : काँग्रेस नेता थानी

सुर्खेत । नेपाली कँग्रेसका चर्चित नेता हृदयराम थानीले शक्ति र सत्ताको आडमा राजनीति चलखेल नगर्न सचेत गराएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमामा आयोजित तेस्रो कर्णाली एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै नेता थानीले शक्ति र सत्ता सधै कसैको मुठ्ठी नहुने स्पष्ट पारेका हुन् । उनले तत्काल सुर्खेत विमानस्थल विस्तारको विकल्प  सोच्न नसकिने बताए ।

‘नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालगायत तर्फ इंगित गर्दै उनले भने, ‘शक्ति र सत्ताको पहुँचका भरमा विभिन्न कार्यालयहरु वीरेन्द्रनगरबाट अन्यत्र सारिनु गलत कदम हो । हेक्का रहोस् ! सत्ता र शक्ति धेरै दिन कसैको मुठ्ठीमा रहदैन् ।’

उनले सुर्खेत विमानस्थल विस्तार गर्नुको साटो नयाँ विमानस्थल बनाउने नाममा मानव जीवनका लागि महत्वपूर्ण वन क्षेत्र नष्ट गर्ने कार्य दिर्घकालिनरुपमा सबैका लागि घातक हुने जिकिर गरे । भएको वन क्षेत्र मास्नु भन्दा संरक्षण तथा सम्वद्र्धनको नीति अंगिकार गर्न आवश्यक रहेको उनले औल्याए ।

‘हालको सुर्खेत विमानस्थललाई थोरै बजेटले व्यवस्थापन गरेर विस्तार गर्न सकिने तमाम अवसरहरु हुँदाहुँदै पनि शक्ति र सत्ताको उन्मादले विमानस्थल सार्ने चलखेल भईरहेको छ,’ उनले भने, ‘सत्ता र शक्तिको आड्मा हजारौं नागरिकको ईच्छा र चाहना विपरित जवरजस्ती थोपर्ने कार्यले मुलुक सहजरुपमा चल्न सक्दैन् । जनताको आवश्यकता र मागमा आधारित विकास हुनु पर्छ ।’

उनले भेरी कोरिडोर कार्यालय बोटेचौरमा सारिएकोप्रति समेत आपत्ती जनाउँदै आवश्यकता र औचित्य स्पष्ट पार्न चुनौती दिए । कुनै अमुक व्यक्तिको चाहना र ईच्छाले वीरेन्द्रनगर बाहिर राखिएका सरकारी कार्यालय फिर्ता ल्याउन आफु निरन्तर अडिग रहेको उनको भनाइ थियो । उनले सुर्खेत विमानस्थल सार्ने कुरा हल्ला मात्रै भएको समेत स्पष्ट पारे ।

कर्णालीका आम नागरिक अहिलेपनि चामल, नून र सिटामोलजस्ता आधारभूत आवश्कताका लागि रोमलिरहेको बताउँदै जनताको माग र आवश्यकतालाई परिपूर्ति गर्न सत्ता र प्रतिपक्ष दलहरु जुट्नु पर्नेमा उनले जोड दिए ।

कर्णालीमा चामल, नून र सिटामोलका लागि मान्छे रुन परेको अवस्था रहेको बताउँदै त्यसको समाधानका लागि सत्तापक्ष र प्रतिपक्ष सबै मिल्न पर्नेमा जोड दिए ।

Translate »