माओवादीले तोक्यो प्रदेश इन्चार्ज, कार्यविभाजनमा नेता शर्माको असहमति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन टुङ्ग्याएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरुलाई प्रदेशको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी तोकेको हो ।
माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सह–इन्चार्जमा साबित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सह–इन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटालाई तोकेको छ ।
गण्डकी प्रदेशको इन्चार्जमा सचिव दीनानाथ शर्मा, सह–इन्चार्जमा केन्द्रीय सदस्य हरिराज अधिकारी, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल र सह–इन्चार्जमा स्थायी समिति सदस्य कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालिबहादुर मल्ल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा उपमहासचिव गिरिराजमणि पोखरेल र सह–इन्चार्जमा केन्द्रीय सदस्य बीना मगरलाई तोकिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले प्रवास प्रदेश समिति मध्यपूर्व इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल, भारत इन्चार्जमा लक्ष्मण पन्त र सह–इन्चार्जमा टिबी पाठक, युरोप–अमेरिका इन्चार्जमा सुरेन्द्रकुमार कार्की तथा विशेष प्रदेश समिति इन्चार्जमा हितमान शाक्य र सह–इन्चार्जमा यशोदा सुवेदीलाई तोकेको छ । केही प्रदेशको सह–इन्चार्ज तोक्न बाँकी रहेको उनले बताए । बैठकले सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आ–आफ्नो निर्वाचित जिम्मेवारीअनुसार कार्यरत रहने निर्णय गरेको छ ।
कार्यविभाजनलाई लिएर माओवादीका उपमहासचिव जनार्दन शर्माले असहमति प्रकट गरेका छन् । बैठकले आगामी चैत १ गतेदेखि गर्ने भनिएको मधेस तराई राष्ट्रिय जागरण अभियान आगामी चैत १५ गतेदेखि गर्ने निर्णय गरेको छ । समय अपुग भएकाले तयारीका लागि उक्त अभियान १५ दिनपछि सारिएको प्रवक्ता सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकले हिमाल, पहाड, मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।