नेपाली सेनालाई सबल र समयानुकूल बनाउन आवश्यक : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधान एवं रक्षा मन्त्री पूर्ण बहादुर खड्काले नेपाली सेनालाई सबल र समयानुकूल बनाउन आवश्यक कानून तर्जुमा र विद्यमान कानूनी प्रावधानलाई अद्यावधिक गर्ने काम भइरहेको बताएका छन् ।
नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठकको आज जङ्गी अड्डामा उद्घाटन गर्दै रक्षा मन्त्री खड्काले राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीहरूको सामना गर्ने उपाय पहिल्याउन बैठक महत्वपूर्ण हुने बताएका हुन् ।
उनले बाह्य रुपमा नेपालको भू राजनीतिक अवस्थिति, शक्ति राष्ट्रहरूको रणनीति र प्रतिस्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीहरूको विश्व मञ्चमा बढ्दो उपस्थिति श्रम आप्रवासन, खुला सिमाना, प्रविधिको विकास लगायतका विषयहरूले सुरक्षा वातावरणमा सृजना गर्दै आएका प्रभावहरू एवं आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहहरूको धार्मिक र सामाजिक सद्भाव बिथोल्ने एवं साम्प्रदायिक गतिविधिहरूको सूक्ष्म विश्लेषण सहित समग्र राष्ट्रिय सुरक्षामा देखापरेका चुनौतीहरूको आँकलन गर्न जरुरी रहेको उल्लेख गरे । रक्षा मन्त्री खड्काले नेपाली सेनाका सकल दर्जाले विभिन्न परिस्थितिहरूमा सीमित स्रोत तथा साधनहरूको उच्चतम सदुपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको उल्लेख गरे।
रक्षा मन्त्री खड्काले सेनाको साहस तथा पराक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चर्चा हुने गरेको उल्लेख गरे ।
हालैको जाजरकोट भूकम्प लगत्तै खोज, उद्दार एवं राहत कार्यमा सेनाले गरेको सक्रियताको आफू स्वयं साक्षी रहेको बताउँदै उनले समग्र नेपाली सेनालाई पर्याप्त स्रोत साधनको व्यवस्था गर्दै उच्च व्यावसायिकता कायम राख्न सरकार र आफ्ना तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गरे ।
नेपाली जनताको तीव्र विकासको अपेक्षा पुरा गर्न राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक लगायत विकटका बस्तीहरू जोड्ने करिडोर आयोजनाहरूको जिम्मेवारी सरकारले सेनालाई सुम्पिएको बताउँदै रक्षा मन्त्री खड्काले जटिल भू–बनोट भएका दुर्गम इलाकाहरूमा विकास निर्माणका थप जिम्मेवारीहरू नेपाली सेनालाई प्राप्त हुन सक्ने कुरा उल्लेख गरे ।
उनले निर्धारित लागत तथा समयसीमा भित्र यस्ता आयोजनाहरू सम्पन्न गर्ने तर्फ सम्बद्ध सबै संवेदनशील भएर लागिपर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका कार्यहरूसँगै पर्यावरण सुरक्षा, विपद् प्रतिकार्य, विकास निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीहरूलाई समेत सम्बोधन गर्न सक्ने गरी हरहमेसा तयारी अवस्थामा रहनुपर्ने बताए । उनले परम्परागत र अपरम्परागत खतराहरूद्वारा सिर्जित सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेको हुँदा सोही अनुरुप तयारी अवस्थामा रहन एवं राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयहरूमा छलफल गर्न बैठक फलदायी हुने बताए ।
वर्तमान राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको संक्षिप्त विश्लेषण गर्दै प्रधान सेनापतिले नेपालको सीमानाभन्दा युद्ध लगायतका गतिविधिले नेपालको आर्थिक तथा सामाजिक जीवनमा परिरहेको प्रभावले भूमण्डलीकरणको असरलाई प्रतिविम्वित गरेको बताए ।
उनले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा नविन प्रविधिको प्रयोगले पार्ने असर र मानव सुरक्षाका बहु आयामिक चुनौतीहरू बुझ्न र तदनुरुप क्रियाशीलताका लागि तयार रहनु आवश्यक रहेकोमा जोड दिए ।
प्रधान सेनापति शर्माले नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ लाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउन सरकारको निरन्तर सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा तथा बलाधिकृत रथी अशोकराज सिग्देल, रथी वृन्द एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो । रेडियो नेपाल