खोला बस्तीमा पसेको होइन, खोला मिचेर बस्ती बसेको हो : सुर्खेतका प्रजिअ आचार्य

सुर्खेत । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले विपद् जोखिम न्यूनिकरणका लागि नयाँ तरिकाबाट सोच्नु पर्ने बेला आएको बताएका छन् ।

उनले समयपिच्छे प्रकोपका पनि नयाँ–नयाँ स्वरुपहरु देखिन थालेकाले विपद् व्यवस्थापन प्रतिकार्यको रणनीति नयाँ तरिकाबाट बनाउन आवश्यक रहेको औल्याए ।

नेपाल रेडक्रस सोसाईटी सुर्खेतद्वारा वीरेन्द्रनगर नगरपालिकाको सभाहलमा आयोजित उत्थानशील नगरका लागि सामुहिक पहल परियोजनाको समिक्षा तथा समन्वय बैठकमा बोल्दै उनले वीरेन्द्रनगरमा सार्वजनिक स्थल, खोलानाला वन जंगलक्षेत्रको अतिक्रम बढ्दै गईरहेकाले विपद्का नयाँ–नयाँ चुनौतीहरुको साम्ना गर्नका लागि तयार रहन आग्रह गरे ।

‘खोला बस्तीमा पसेको होइन, खोला मिचेर बस्ती बसेकाले विपद् जोखिमको साम्ना गर्न तयार रहनु पर्छ,’ उनले भने, ‘जंगली जनावर वस्ने वन जंगल अतिक्रमण गर्दै जाने अनि हात्ती, बाघले मान्छे मार्यो भनेर क्षतिपूर्ति माग्नु कस्तो चलन हो ?, बाघ बस्ने जंगलमा मान्छे बसेपछि द्वन्द्व त हुने नै भयो ।’

उनले अधिकांस विपद् जोखिम मानव सृजित भएकाले सरोकारवाला पक्षले त्यस तर्फ सोच्न जरुरी रहेको औल्याए । जलवायु परिवर्तनले पारेको प्रभावसँगै थप सडक दुर्घटना, लागुऔषध ओसारपसार जस्ता चुनौतीहरु समेत बढ्दै गईरहेकोले न्यूनिकरणका लागि सबै पक्षको पहल आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले कतिपय प्रकोप प्राकृतिसँगै मानव सृजित विपद्हरुको साम्नाका लागि सरोकारवाला पक्षहरुसँग समन्वय तथा सहकार्य गर्दै न्यूनिकरणका आवश्यक प्रयासहरु भईरहेको बताईन् ।

‘विपद्ले तेरो, मेरो र पराई भनेर चिन्दैन् । कतिबेला, कुन रुपमा, कुन ठाउँमा, कसरी आईपुग्ने हो, त्यो कसैलाई थाहा हुँदैन्,’ उनले भनिन्, ‘बेला न कुबेला आईपुग्ने त्यस्ता विपद् जोखिम न्यूनिकरणका लागि पूर्व तयारी, साधनस्रोतको जोहो, दक्ष मानव संसाधनको उपलब्धता आदी बारेमा नगरपालिकाले छुट्टै यूनिट खडा गरेपनि यहीं नै पर्याप्त होइन । फेरीपनि सबै सरोकारवालाहरुसँग सहकार्य, समन्वय तथा सहयोगको अपेक्षा गर्दछौं ।’

उनले वीनपाका १६ वटै वडाहरुमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा थुप्रै असल अभ्यास र सहकार्य हुँदै आएकाले आगामी दिनमा समेत निरन्तरताको अपेक्षा राखिएको जनाईन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपमहामन्त्री मनोजकुमार थापाले दातृनिकायसँगै संघ, प्रदेश र स्थानीय पालिकाहरुसँग रेडक्रसले आगामी दिनमा समेत निरन्तर सहकार्य तथा समन्वय गरेर अघि बढ्ने योजना अघि सारेको बताए ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष रामलाल आचार्यले उत्थानशील नगरका लागि सामुहिक पहल परियोजना मार्फत विपद् व्यवस्थापन प्रतिकार्यका लागि वीरेन्द्रनगरका विभिन्न वडाहरुमा प्रभावकारीरुपले देखिनेगरी कामहरु भएको जनाए । उनले आगामी दिनहरुमा दातृनिकायको सहयोग तथा सहकार्यमा विपद् व्यवस्थापन प्रतिकार्यका लागि जिल्लाभरी आफ्नो दायरा विस्तार गर्ने लक्ष्य राखिएको बताए ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कार्यालयका कार्यक्रम अधिकृत निलम ढुङगानाले स्वीस रेडक्रसको सहयोगमा वीरेन्द्रनगरमा सञ्चालित कार्यक्रमको पहिलो चरणको लक्ष्य पुरा भएपनि आगामी दिनहरुमा थप निरन्तरता दिने बारे  सम्बन्धित पक्षहरुसँग छलफल तथा समन्वय भईरहेको जानकारी दिइन् ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका जनप्रतिनिधिसँगै रेडक्रस तथा विपद् व्यवस्थापन प्रतिकार्यसँग जुडेका विकास साझेदारहरुको समेत सहभागिता रहेको थियो ।

Translate »