‘युवा पलायन रोक्न सरकार पूर्णरुपमा विफल’

सुर्खेत । युवा जनशक्तिलाई विदेश पलायन रोक्नबाट वर्तनमान गठबन्धन सरकार पूर्णरुपमा विफल रहेको नेकपा एमाले आवद्ध संगठनहरुले बताएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल निजामति कर्मचारी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र प्रेस चौतारी नेपाल वीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले युवा विदेसिनुको प्रमुख कारण राजनीतिक वितृष्णा, शिक्षित बेरोजगारी, अरुको सिको अनि थेग्नै नसक्ने महंगीले युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको निष्कर्ष निकालेका हुन् ।

उनीहरुले उद्योगधन्दा बन्द हुँदै जानु, नयाँ उद्योगधन्दा स्थापनाका लागि वातावरण नबन्नु, स्वदेशमा श्रम बिक्री हुने क्षेत्र पनि दिन प्रतिदिन तहसनहस हुनुले युवा जनशक्ति पलायन रोक्नबाट वर्तमान गठबन्धन सरकार असफल भएको बताए ।

‘जनतालाई आभास हुने गरी विकासका कामहरु भइरहेका छैनन् ।  हाल विदेशिएका युवाले पठाएको रेमिट्यान्सले देशको अर्थ व्यवस्थालाई सघाए पनि, उनीहरुको पारिवारिक जीवनस्तरमा केही आर्थिक सहजता आएपनि यो दीर्घकालीन समाधानको बाटो होइन,’ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनका सुर्खेत जिल्ला अध्यक्ष आशिष आचार्यले भने, ‘पारिवारिक सामाजिक समस्या विकराल बन्दै गएका छन् । युवा जनशक्ति विदेश पलायनले भोलि देशको अवस्था के हुने हो भन्ने चिन्ता लिनु र यसको समाधानमा सरकार केन्द्रित हुनु जरुरी छ ।’

उनले वैदेशिक रोजगारी विपन्न र बेरोजगार युवाका लागि रहर मात्र होइन, बाध्यता नै बनेको जिकिर गरे । उनका अनुसार देशमा रोजगारी नपाउँदा दैनिक गर्जो टार्नकै लागि जोखिमपूर्ण वैदेशिक रोजगारीमा होमिनेको संख्या बढ्दै गईरहेको छ । उनले धेरै कमाउने लोभमा वैदेशिक रोजगारीका अनेक प्रलोभनमा परेर कतिपय नेपाली युवाहरु युद्धग्रस्त क्षेत्रमा समेत होमिएको जनाए ।

जनगणना २०७८ अनुसार नेपालका १५ लाख ५५ हजार नौ सय ६१ घरपरिवारका व्यक्ति विदेशमा रहेको उनको भनाइ छ । ‘उर्जाशील युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न वर्तमान गठबन्धन सरकार चौतर्फी विफल भएको छ,’ अनेरास्ववियुका कर्णाली प्रदेश अध्यक्ष राजेश ओलीले भने, ‘वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै सरकारले रोजगारी सिर्जनामा प्राथमिकता दिने उद्घोष गरेपनि कार्यक्रमको पाना भर्नेबाहेक अरु केही गरेको  छैन् ।’

वर्तमान सरकारले जनतालाई स्वदेशमै रोजगारी दिन नसक्दा वर्षेनी ५ लाख युवाहरु श्रम बजारमा भौतारिरहेको उनले बताए । उनका अनुसार ती मध्ये स्वदेशमा रोजगारी नपाएर तीन चौथाइ वैदेशिक रोजगारीमा जान बाध्य छन् । उनले स्वदेशमा उद्यम गर्न सक्ने वातावरणपनि नबाउने अनि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपमूलक तालिम पनि दिन नसक्ने सरकारकै कारणले थोरै पारिश्रमिकमा श्रमिक वैदेशिक रोजगारीमा जान वाध्य भएको बताए ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनका कर्णाली प्रदेश इन्चार्ज डोरप्रसाद उपाध्यायले राज्यको नीतिगत समस्याकै कारणले देशमा युवा बेरोजगारीको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको बताए । उनले पछिल्लो समय विभिन्न जनवर्गीय संगठनहरुको संख्यात्मक बढेपनि गुणात्मकता घट्दै गईरहेकाले सोचेजस्तो प्रतिफल आम नागरिकले पाउन नसकेको जनाए ।

वास्तविक जीवन र जगतलाई राज्यले बुझाउन नसक्दा अलमलमा परेको समाजवाद उन्मुख कर्णालीको सपनालाई साकार पार्न युवाशक्तिको भूमिका प्रभावकारी हुने उनको भनाइ थियो । नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्यद्वय तुलाराम गिरी र ओम कठायतले नेपाल निजामति कर्मचारी संगठन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र प्रेस चौतारी नेपालले आ–आफ्नो जिम्मेवारी पुरा गर्न सके ‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना छिट्टै पुरा हुने धारणा व्यक्त गरे ।

नेपाल निजामति कर्मचारी संगठनका कर्णाली प्रदेश अध्यक्ष टंकप्रसाद लामिछानेले राज्यको नीति  गलत भएकै कारणले देशमा बेरोजगारको संख्या बढ्दै गईरहेको बताए । ‘जिल्लामा नागरिकता, राष्ट्रिय परिचय पत्र वितरण गर्ने संस्था एउटा मात्रै हुनी, अनि राजश्व संकलन गर्ने संस्था गाउँ–गाउँमा पुगेपछि सरकारको नीतिप्रति जनताको वितृष्णा बढेको छ,’ उनले भने, ‘नागरिकले राज्यलाई कर बुझाए वापतको सर्व सुलभ सेवा नपाउँदा भोग्नु परेका समस्याप्रति अझैपनि सरकारहरुले बुझ्न सकेका छैनन् । जनताको भलाईमा नै सरकारहरुको भलाई लुकेको हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ ।’

नेपाल निजामति कर्मचारी संगठनका सुर्खेत अध्यक्ष हेमन्त चुनारा र सचिव धर्मराज पौडेलले कर्णालीमा सक्रिय विभिन्न संगठनहरु वीचको अन्तर सम्बन्धहरुलाई सुमधुर बनाउन परिचात्मक तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने अभियान अघि बढाईएको बताए । उनीहरुले निजामति कर्मचारीहरुले भोग्नु परिरहेका समस्याप्रति सरकारलाई जिम्मेवार बनाउन र आफ्नो आवाजलाई बुलन्द पार्न विभिन्न पेशागत संघ संगठनहरुसँगको अन्तर सम्वाद जारी रहने जानकारी दिए ।

कार्यक्रममा प्रेस चौतारी नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी र सुर्खेत जिल्ला अध्यक्ष गोविन्द खत्रीले आम नागरिकसँगै विद्यार्थी तथा कर्मचारीहरुले भोग्नु परिरहेका समस्यालाई सरकारसमक्ष पु¥याउन प्रेस चौतारीले कलमका माध्यमबाट पुलको काम गरिरहेको बताए । उनीहरुले आम नागरिकसँगै किसान, मजदूर, विद्यार्थी तथा कर्मचारीहरुका जायज मागप्रति प्रेस चौतारीको सदा एक्यबद्धता रहेको जिकिर गरे ।

Translate »