प्रथम महिला राष्ट्रपति भण्डारी सुर्खेत आउँदै
सुर्खेत । देशकै प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार सुर्खेत आउने कार्यक्रम तय भएको छ । सुर्खेतमा प्रथम महिला राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशकै पहिलो महिला सम्मेलनसँगै वीरेन्द्रनगर स्थित महिला तथा बालबालिका अस्पतालको उद्घाटन गर्ने छन् । शनिबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पत्रकार सम्मेलन नै गरेर निवर्तमान राष्ट्रपति भण्डारीद्वारा फागुन २१ गते वीरेन्द्रनगरको सिटी हलमा महिला सम्मेलनको उद्घाटन गरिने जानकारी दिईन् ।
उनले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सम्मेलनमा कर्णाली प्रदेशका ७९ वटै पालिकाका महिला प्रमुख एवं उपप्रमुखसहित प्रदेश सभाका सदस्य, विभिन्न राजनीतिक दलका महिला सदस्य, अन्तर पार्टी महिला सञ्जाल, वीरेन्द्रनगरका आमा समूह, वन उपभोक्ता समूहसहित करिब एक हजार महिलाहरुको सभागिता रहने बताईन् ।
‘पहिलो पटक हुन लागेको सम्मेलनमा राजनीतिमा सक्रिय महिला, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षिकाहरु, गाउँपालिका महासंघ, नगरपालिका महासंघ, निजामती कर्मचारी लगायतमा आवद्ध महिलाहरु सहभागी हुने छन्,’ उनले भनिन्, ‘हरेक क्षेत्रका संघर्षशील महिलाको सम्माजनक सहभागितामा महिला हक, हित र अधिकार प्राप्तिका लागि दवावमुलक आवाज बुलन्द गरिने छ ।’
उनले सम्मेलनमा अवधारणापत्र प्रस्तुत गर्नुका साथै अनुभव आदानप्रदान र सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिकालाई प्रभावकारी बनाउन रणनीति तय गरिने जनाईन् । उनका अनुसार वीरेन्द्रनगरबाट शुभारम्भ गरिएको ‘महिला सम्मेलन’ हरेक वर्ष प्रदेशका अन्य पालिकाहरुले समेत पालैपालो अनुसरण गरुन भन्ने अपेक्षा राखिएको छ ।