प्रथम महिला राष्ट्रपति भण्डारी सुर्खेतमा

सुर्खेत । प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी भोली वीरेन्द्रनगरमा हुने प्रदेश स्तरीय ‘कर्णाली महिला सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्न आज सुर्खेत आईपुग्नु भएको छ । निवर्तमान राष्ट्रपति भण्डारीले भोली प्रदेश स्तरीय प्रथम ‘कर्णाली महिला सम्मेलन’ को उद्घाटन अघि महिला तथा बालबालिका अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिईन् ।

उनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको कर्णाली महिला सम्मेलनमा प्रदेशका ७९ वटै पालिकाका महिला प्रमुख एवं उपप्रमुखसहित प्रदेश सभाका सदस्य, विभिन्न राजनीतिक दलका महिला सदस्य, अन्तर पार्टी महिला सञ्जाल, वीरेन्द्रनगरका आमा समूह, वन उपभोक्ता समूहसहित करिब एक हजार महिलाहरुको सभागिता रहने बताईन् ।


हरेक क्षेत्रका संघर्षशील महिलाको सम्माजनक सहभागितासँगै हक, हित र अधिकार प्राप्तिका लागि दवावमुलक आवाज बुलन्द गर्न सम्मेलनमा राजनीतिमा सक्रिय महिला, विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षिकाहरु, गाउँपालिका महासंघ, नगरपालिका महासंघ, निजामती कर्मचारी लगायतमा आवद्ध महिलाहरुको समेत सहभागित रहने उनको भनाइ छ ।

उनले सम्मेलनमा अवधारणापत्र प्रस्तुत गर्नुका साथै अनुभव आदानप्रदान तथा सरकारी तहमा महिलाको नेतृत्वदायी भूमिकालाई प्रभावकारी बनाउन रणनीति तय गरिने जनाईन् । उनका अनुसार अब सुर्खेतको वीरेन्द्रनगरबाट शुभारम्भ गरिएको ‘महिला सम्मेलन’ हरेक वर्ष पालैपालो प्रदेशका अन्य पालिकाहरुले अनुसरण गर्ने अपेक्षा राखिएको छ ।

Translate »