बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक, आजै मन्त्रीपरिषद् पर्नुगठन हुने

कांग्रेसका ३८ मन्त्रीको पद धरापमा

काठमाडौं । सत्तासमिकरण परिवर्तन हुने भएसँगै नयाँ बनेको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी रहेको छ ।

बैठकमा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहररु सहभागी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार वर्तमान मन्त्रीपरिषद्को पुरै सेट परिवर्तन गरी नयाँ गठबन्धनबाट आजै सानो आकारको मन्त्रीपरिषद्को गठन गर्ने तयारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष रवि लामिछानेसहित सहयोगी नेताहरु सहभागी छन् ।

प्रचण्ड र ओलीले रास्वपाका  लामिछानेलाई भौतिक मन्त्रालय दिन चाहे पनि लामिछानेले भने गृहमन्त्रालयको अडान छाडेका छैनन्। परराष्ट्रमन्त्रालयमा जसपाका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन्।


केन्द्रमा सरकार परिवर्तन हुने भएसँगै प्रदेशका सरकारहरुमा पनि आलोपालो गर्ने गरी परिवर्तन गर्ने नयाँ गठबन्धन बीच सहमति भएको बुझिएको छ ।   एमालेले ३ र माओवादी केन्द्रले २ वटा प्रदेशको नेतृत्व लिनेबारे दलहरुबीच प्रारम्भिक छलफल भइरहेको छ । बाँकी दुई प्रदेशको नेतृत्व गठबन्धनका अन्य दललाई दिने तयारी छ ।

कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले एमाले,रास्वपा,जपसासँग नयाँ सत्ता गठबन्धन गर्ने निर्णय गरेको छ ।  उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

सत्ता समीकरण बद्लिएपछि सभापति देउवाले छलफलका लागि आफ्नै निवास बूढानीलकण्ठमा आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।

माओवादी केन्द्रले एमालेसहितको गठबन्धन रोजेपछि जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले पनि कांग्रेसको साथ जोड्ने सङ्केत गरेका छन् । सत्ता राजनीतिमा कांग्रेस एक्लिएसँगै केन्द्रदेखि सातै प्रदेशमा सरकार सत्ताविमुख हुने निश्चित देखिएको हो ।

सत्ता समीकरण फेरबदल भएपछि कांग्रेसका केन्द्रदेखि प्रदेशसम्म ३८ मन्त्रीको पद धरापमा परेको छ । सत्तासीन माओवादी केन्द्रले एमालेसहितका दलसँग सत्ता सहकार्य अगाडि बढाएपछि कांग्रेसका चार मुख्यमन्त्रीसहित ३८ मन्त्रीको पद धरापमा परेको हो ।

Translate »