लोकतन्त्रमा दलहरु बलियो बनेमात्र देश बलियो बन्छ : पूर्वराष्ट्रपति भण्डारी


सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रमा देश र जनताको उन्नति, प्रगतिका लागि दलहरु बलियो हुन पर्ने बताएकी छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा पाँच शैयाको महिला तथा बालबालिका नगर अस्पतालको उद्घाटन गर्दै उनले देशको राजनीति ठिक ढंगले अघि बढाउन पनि दहरु बलियो बन्नुपर्नेमा जोड दिईन् ।

उनले लोकतन्त्रका तत्वहरु भनेको राजनीतिक दलहरु भएकाले दलहरु कमजोर भएमा देश कमजोर हुने जिकिर गरिन् ।
आफु उपस्थित विभिन्न कार्यक्रमहरुमा नेपाली काँग्रेसको उपस्थिति कम हुने गरेको भन्दै उनले राजनीतिक दलहरुले आ–आफ्नै प्रकारको आस्था र सिद्धान्त बोकेपनि त्यो देश र जनताका निम्ति नेपाली काँग्रेसपनि बलियो हुनुपर्ने बताईन् ।


उनले निश्चित आ–आफ्नो मूल्य मान्यता र आर्दश बोकेपनि देश र जनताका निम्ति राजनीतिक पार्टीहरुले सिद्धान्तनिष्ठ कर्तव्य पुरा गर्न आग्रह, पूर्वाग्रहबाट माथि उठ्नु पर्नेमा जोड दिईन् ।
पूर्वराष्ट्रपति भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउँदै महिला तथा बालबालिकाको क्षेत्रमा सोचेजस्तो प्रगति हुन नसकेको बताईन् ।

उनले मातृशिशु स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन वीरेन्द्रनगर नगरपालिकाको लगानीमा सञ्चालनमा ल्याईएको ५ शैयाको महिला तथा बालबालिका अस्पताललाई सेवा सुविधा विस्तार गरी ५ सय शैयाँसम्म पु¥याउन आग्रह गरिन् ।
भविष्यमा निर्वाह गर्नुपर्ने जिम्मेवारीका लागि सबल र सक्षम बनाउनका निम्ति बालबालिकाको पालनपोषण, हेरविचार, स्वास्थ्य एवं शिक्षाका लागि हामीले गर्नुपर्ने लगानीको सर्वोपरि महत्व रहेको कुरामा उनले जोड दिईन् ।


