लोक सेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतमा शुरु

सुर्खेत । लोक सेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ । लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा आज देखि दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गरेका हुन् ।

उनले अधिकार, कर्तव्य, जिम्मेवारी र सीमितता बुझ्दै समन्वय गरेर अगाडि बढ्न प्रदेश लोकसेवा आयोगलाई आग्रह गरे । विधि, पद्धतिलाई साटासाट गर्दै प्रदेश लोकसेवा आयोगलाई बलियो बनाउने लोकसेवा आयोग केन्द्रीय कार्यालयको उद्देश्य रहेको उनको भनाइ छ ।

कार्यक्रममा आयोगका सदस्य वीरबहादुर राईले सुदूरपश्चिम प्रदेशको कैलालीमा विसं. २०७९ मा फागुन १९ र २० गते सम्पन्न तेस्रो सम्मेलनबाट ५ बुँदे घोषणापत्र र १० बुँदे निर्णय जारी गरिएकोमा अधिकांस कार्यान्वयनको चरणमा रहेको जानकारी दिए । उनले आयोगको कार्य सम्पादनमा निष्पक्षता र स्वच्छता कायम गर्न यसको विश्वासनियता बढाउँदै सात दशक लामो ईतिहास बोकेको आफ्नो साख बचाउन निर्वाध अघि बढिरहेको बताए ।


उद्घाटन सत्रमा कर्णाली प्रदेशका प्रमुख सचिव चुडामणि पौडल, कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहराले शुभकामना मन्तव्य दिए । यसैगरी लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराई, गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष सजना दाहाल र मधेश प्रदेश लोकसेवा आयोगका सदस्य डा. सुजाता देवले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनमा केन्द्र र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने र नयाँ योजनाबारे छलफल गरेर निचोड निकालिने लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिए । सम्मेलनका उपलब्धि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उहाँको भनाइ छ ।

यसअघि लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन २०७७ सालमा फागुन २३ र २४ गते काभ्रेको धुलिखेलमा, दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३ र २४ गते रुपन्देहीको भैरहवा तथा तेस्रो राष्ट्रिय सम्मेलन २०७९ फागुन १९ र २० कैलालीको धनगढीमा आयोजना गरिएको थियो ।

सम्मेलनमा सातवटै प्रदेश लोकसेवा आयोगका पदाधिकारीसहित कर्मचारीको सहभागिता थियो । सुर्खेत घोषणापत्र जारी गर्दै विहीबार सम्मेलन सम्पन्न हुने बताईएको छ ।

Translate »