शैक्षिकसत्र शुरु भएपनि हुम्लाका विद्यार्थीले पाठ्यपुस्तक पाएनन् , हिमपातले सदमुकाममै थन्किए पाठ्यपुस्तक

हुम्ला । हुम्लाको उत्तरी क्षेत्रका विद्यालयहरुका लागि ल्याईएका पाठ्यपुस्तक सदरमुकाममै थन्किएपछि विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । फागुन २ गतेदेखि नयाँ शैक्षिकसत्र शुरु भएपनि समयमै पाठ्यपुस्तक विद्यार्थीले नपाउँदा पठनपाठनमा समस्या भएको हो ।

जिल्लामा गत एकसातादेखि परेको भारी हिमपातका कारण पाठ्यपुस्तक सदरमुकाम सिमकोटमै थन्किएका हुन् । समयमै पाठ्यपुस्तक पु¥याउने जोहो गर्न भन्दै फागुन २३ गते नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयलाई गुहारेको छ ।

उपाध्यक्ष लामा सहितको टोलीका अनुसार कर्णाली करिडोर अन्तर्गतको सिमकोट–हिल्सा सडकखण्डमा हिमपातले सडक अवरुद्ध भएपनि पाठ्यपुस्तक ढुवानीमा समस्या भएको हो । हिमपातका कारण नाम्खा गाउँपालिकाका–१ देखि ६ र सिमकोट गाउँपालिकाका–७ र ८ नम्बर वडामा सञ्चालित विद्यालयहको पठनपाठनमा समस्या भईरहेको सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमलबहादुर बुढाले बताए ।

हिमपातले सडक अवरुद्ध हुँदा विद्यालयसम्म पाठ्यपुस्तक नपुगेपछि जमेको हिउँ पञ्छाउनका लागि प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेल समक्ष अनुरोध गरेको सिमकोट गाउँपालिका–७ का वडाध्यक्ष बलविर शाहीले बताए । नाम्खा गाउँपालिकाका १७ ओटा विद्यालयका १ हजार १ सय ५१ र सिमकोट गाउँपालिका दुई ओटा वडाका आठ ओटा विद्यालयका १ हजार ४ सय ८७ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

नाम्खा गाउँपालिकामा बुद्ध आधारभूत विद्यालयमा ९६, नमडुछोमु प्राथामिक विद्यालय २२, नाम्खा ख्योमजोङ्ग प्राथामिक विद्यालय २४, नमुवुद्ध प्राथामिक विद्यालय ९६, सत्य प्राथामिक विद्यालय २७, तातोपानि आधारभूत विद्यालयमा ७२, च्याछरा प्राथामिक विद्यालय १७, मोतिराम प्राथामिक विद्यालय ३९, भृकुटि प्राथामिक विद्यालय २६, सुनखानि प्राथामिक विद्यालय ५०, अरनिको प्राथामिक विद्यालय ४०, हिमालय प्राथामिक विद्यालय ८, हिमशिखर प्राथामिक विद्यालय ३, खिरपानि प्राथामिक विद्यालय २३, खासरपानि आधारभूत विद्यालयमा ४८, महाबौद्ध माध्यमिक विद्यालय ३ सय ३१ र नामख्योङ महामाया आधारभूत विद्यालयका ३ सय १० जना विद्यार्थी रहेको शिक्षा शाखा प्रमुख मनराज बुढाले जानकारी दिए ।

त्यस्तै सिमकोट गाउँपालिका–७ मा रहेको कर्णाली माध्यमिक विद्यालयमा ३५०, कैलाश माध्यमिक विद्यालयमा २ सय ६३, दोभान आधारभूत विद्यालय दुई, सर्केदउ आधारभूत विद्यालय १५, सनसाइन बोर्डिङ्ग स्कुलमा १ सय ६६ रहेका छन । वडा नम्बर ८ मा सैपाल हिमाल माध्यमिक विद्यालयमा ३ सय ६६, कान्ति आधारभूत विद्यालयमा १ सय ४२, बलभद्र आधारभूत विद्यालयमा १ सय ६२ जना विद्यार्थीले पठनपाठन गर्दै आएको सिमकोट गाउँपालिका शिक्षा शाखाका नायव सुव्बा कृष्णप्रसाद आचार्यले बताए ।

अझै पुरा किताव आएनन् ।

जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरले पुस्तक छपाईमा ढिलाई गर्दा समयमै पाठ्यपुस्तक नपुगेको हुम्लाका लागि पुस्तक ढुवानीको जिम्मा पाएको रोकाया पुस्तक पसलका प्रोपाइटर धनजवा रोकायाले जनाए ।

‘नेपाल सरकारले माध्यामिक तहसम्म निःशुल्क रुपमा दिंदै आएको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छपाईमा ढिलाई गरेपछि हुम्लामा अझैपनि केही सेट किताव आउन बाँकी छ,’ उनले भने, ‘केही पाठ्यपुस्तक आईपुगेपनि अझै १, २ र ५ कक्षाको पुरै सेट आउन ढिलाई हुँदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको हो ।’

उनले नाम्खा गाउँपालिका विद्यालयको १ हजार २ सय सेट मध्ये ९ सय सेट र सिमकोट गाउँपालिका भित्रका विद्यालयको ३ हजार सेट मध्ये २ हजार २ सय सेट मात्र आईपुगेको जानकारी दिए ।

उनका अनुसार जिल्लामा आइपुगेका पाठ्यपुस्तक मध्ये सदरमुकाम स्थितका विद्यालयहरुले बुझेर लगिसकेका छन् भने सदरमुकाम आसपास र नाम्खा गाउँपालिकाका केही विद्यालयहरुले आफूबाट बुझेर लगेपनि बाग्लो हिमपातका कारण लिन नसक्दा गोदाममै थन्किएका छन् ।

यता हिमपातका कारण विद्यालयसम्म पाठ्यपुस्तक पु¥याउन ढुवानीमा समस्या आएको भन्दै जनप्रतिनिधले आफ्नो ध्यानार्कषण गराएकाले तत्काल स्काभेटर लगाएर हिउँ पञ्छाउने कार्यका लागि आवश्यक तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

Translate »