एमाले विरोधीलाई निर्मतापूर्वक प्रतिवाद गरौं : कर्णाली प्रदेश इन्चार्ज भट्ट

सुर्खेत । नेकपा (एमाले) सचिव लेखराज भट्टले एमाले विरोधीहरुलाई निर्मतापूर्वक प्रतिवाद गर्न सुझाएका छन् । विहीबार सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रदेश कमिटिको दोस्रो बैठकलाई सम्वोधन गर्दै एमाले कर्णाली प्रदेश इन्चार्ज समेत रहेका भट्टले पार्टी तथा संगठनलाई खलल पु¥याउने तत्वहरु माथि निर्ममतापूर्वक प्रहार जरुरी रहेको औल्याएका हुन् ।
‘पार्टीको आन्तरिक जीवनको विकारका रुपमा रहेका टक्सिनहरुलाई बढ्न दिनु हुँदैन्, उनले भने, ‘मानव शरिरमा विकार उत्पादन गर्ने टक्सीन जस्तै संगठनलाई कमजोर बनाउने विभिन्न व्यक्ति तथा समूहहरु टक्सिन भएकाले त्यसलाई बढ्न नदिनप्रति सबै नेता कार्यकर्ताहरु सजग हुनु पर्छ ।’
उनले पछिल्लो समय पार्टीको हेडक्वाटरले लिएको निर्णय राष्ट्रिय राजनीतिसँगै पार्टीका लागि समेत दिर्घकालीन महत्वको भएकाले अक्षरस पालना गर्न निर्देशन दिए । ‘कर्णालीका दशवटै जिल्लाका अध्यक्ष, प्रदेश कमिटिका सदस्य र कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरुको भावना र स्प्रीट मैले राम्रोसँग बुझेको छु,’ उनले भने, ‘मैले पार्टीको सचिवालय बैठकमा यहाँ उठान गरिएका सबै समस्या र विषयवस्तु नेतृत्वलाई जस्ताको तस्तैं अवगत गराउने छु ।’
बैठकमा एमालेका स्थायी कमिटी सदस्य यमलाल कँडेलले सम्बन्धित कमिटिलाई काम गर्न नदिएर माथिल्लो कमिटीले अनावश्यक रुपमा गर्ने स्वार्थगत हस्तक्षेप मात्रै नगर्ने हो भने पार्टी भित्रको विवाद धेरैहदसम्म साम्य पार्न सकिने ठोकुवा गरे । बैठकमा पार्टीका पोलिटव्यूरो सदस्य मोहन बानिया, भैरवसुन्दर श्रेष्ठ, केन्द्रीय सदस्य लक्ष्मी पोखरेल र प्रदेश कमिटि सदस्यहरुको उपस्थिति रहेको थियो ।

‘एक घर, एक संगठित सदस्य’
नेकपा एमाले कर्णाली प्रदेश कमिटिले ‘एक घर, एक संगठित सदस्य’ अभियानलाई अघि बढाएको छ । एमालेले कर्णालीका दशै वटै जिल्लामा लागु हुने गरी ‘एक घर, एक संगठित सदस्य’ योजना पार्टीको हाईकमान निर्देशित नीति अनुसार अघि बढाएको हो ।
पार्टीको सातौं केन्द्रीय कमिटिले अगामी वर्ष २०८१ लाई संगठन शुद्धिकरण र सुदृढिकरण वर्षका रुपमा अघि बढाउने निर्णय अनुसार कर्णाली प्रदेश कमिटिको दोस्रो बैठकले मातहतका दशवटै जिल्लामा उक्त नीतिलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको एमाले कर्णाली सचिव धुव्रकुमार शाहीले बताए ।
‘पार्टी केन्द्रको नीति र कार्यक्रम अनुसार निस्क्रिय सदस्यलाई विदाई दिँदै एमाले कर्णालीले कम्तीमा ‘एक घर, एक एमाले’ सदस्य बनाउने लक्ष्यलाई पुरा गर्न जिल्ला र पालिका स्तरका कमिटिलाई निर्देशन जारी गरेको छ,’ उलने भने, ‘आजको बैठकले पनि पार्टी केन्द्रको निर्णय वमोजिम अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाहरुको अधिवेशन अगामी २०८१ वैशाख १५ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ । त्यसका लागि प्रदेश कमिटिको सचिवालय समेत गठन गरेको छ ।’
उनले तत्कालका लागि यसभन्दा अघिल्लो कार्यकालमा सचिवालय रहेर काम गरेका र यो पटक पनि प्रदेश कमिटिमा निर्वाचित भएका १२ जना सदस्य र ५ जना पदाधिकारीहरु रहेको १७ सदस्यीय सचिवालय समेत गठन गर्ने बैठकले निर्णय गरेको जानकारी दिए । उनका अनुसार प्रदेशका दश वटै जिल्लाका पार्टी सदस्यता वितरण र नविकरणको काम चैत महिना भित्रमा सकाउन मातहतका कमिटिलाई निर्देशन जारी गरिएको छ ।