नक्कली औषधि पसल सिल, नक्कली बिक्रेता नियन्त्रणमा

बाँके । बाँकेमा नक्कली औषधि पसल सञ्चालकलाई पक्राउ गरी उसले सञ्चालन गरेको पसललाई सिल गरिएको छ । जिल्लाको डुडुवा गाउँपालिका–६ चौधरीपुर्वाबाट नक्कली औषधि बिक्रेता विकास लखेरलाई जिल्ला प्रशासन कार्यालय बाँकेको टोलीले पक्राउ गरेको हो ।

अनुगमनका क्रममा डुडुवा गाउँपालिकाको चौधरीपुर्वा पुगेको जिल्ला प्रशासनको टोलीले नक्कली औषधि पसल सञ्चालक लखेरलाई पक्राउ गरी पसल सिल गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

प्रजिअ पोखरलेका अनुसार पक्राउ गरिएका विकास लखेरले औषधि बिक्री गर्ने योग्यताको प्रमाणपत्र देखाउन सकेका थिएनन् । उनको पसल दर्ताबिना नै सञ्चालन गरेको अनुगमनबाट फेला परेको प्रजिअ पोखरेलले बताए । उनका अनुसार आरोपी लखेरको पसलमा करिब ७५ प्रतिशत औषधि म्याद गुज्रिएको अवस्थामा समेत भेटिएको छ ।

‘म्याद गुज्रिएको भन्दा बाहेकका औषधिहरूको उपयोग म्यादमा हातले नै ‘ओभर राइट’ गरेको फेला परेको छ,’ प्रजिअ पोखरेलले भने, ‘उपयोग गर्न निषेध गरिएको भिगो ट्रप्पल एक्स, डर्मिकेम र कम्बिनेसनमा भएका अन्य औषधिहरू पनि सो पसलमा बेच्ने गरेको भेटिएको छ । अनुमति बिना सञ्चालित पसललाई सिल गरिएको छ ।’

बिक्रेता विकास लखेरलाई औषधि बिक्री वितरणसम्बन्धी प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रजिअ पोखरेलले जानकारी दिए । रासस

Translate »