स्रोत नखुलको डेढ करोडसहित ८ जना पक्राउ

बाँके । प्रहरीले बाँकेको नेपालगञ्जबाट दुई दिनमा १ करोड ३० लाख ४८ हजार ७ सय नेपालीसहित १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । आइतबार र सोमबार चलाएको अपरेसनमा ३ वटा समूहबाट डेढ करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सुवासचन्द्र बोहराले बताए ।

आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ परेका थिए । स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गाली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको थियो । प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगञ्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ ११ लाख रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगञ्जका सलिम जोलाहा र हसिक अन्सारी परेका छन् । उनीहरुको साथबाट ३४ लाख नेपाली रुपैयाँ र ४ लाख ४० हजार भारतीय रुपैयाँ बरामद भएको एसपी बोहोराले बताए । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पुष्टि भने भइसकेको छैन ।

Translate »