आफ्नै स्कूल बसले किच्दा बालिकाको मृत्यु


बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–९, ठाकुरद्वारामा स्कूल बसले किच्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । ठाकुरद्वारामा रहेको विविएस मेमोरियल स्कूलको ना ४ ख ६२७१ नम्वरको बसले किचेर त्यही विद्यालयमा अध्ययनरत बालिका सबिता सुनारको मृत्यु भएको हो ।
बालिका बसबाट झरेर घरतर्फ जाने क्रममा बसको पछाडीको चक्काले किचेको प्रहरीले जनाएको छ । घटना हुनासाथ एम्बुलेन्समा राखेर नेपालगञ्ज मेडिकल कलेज कोहलपुर पुऱ्याएपनि डाक्टरले मृत घोषित गरेका थिए । मृतक बालिकाको टाउको र गर्दनमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए ।

स्थानीयबासीका अनुसार सविता घर जानका लागि बसबाट ओर्लिदा झोलाबाट बोतल खसेपछि टिप्दै गर्दा पछाडिको चक्काले किचेको थियो । गाडी अत्यन्त पुरानो भएको, गाडीमा सह–चालक नभएको र चालकले बालिकालाई नदेखेर गाडी चलाउँदा दुर्घटना हुन पुगेको हो । बालिकाका परिवारले विद्यालय र गाडी चालकको लापरबाहीका कारण बालिकाको ज्यान गएको आरोप लगाएका छन् ।
अभिभावक र विद्यालय बीच सहमति भएपछि शवको पोस्टमार्टम गरी परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । ठाकुरद्वारादेखि शिवपुर जाँदै गरेको बस र बस चालक प्रहरीको नियन्त्रणमा छन् ।

