अनेस्ववियुद्वारा मध्यपश्चिम विश्वविद्यालयमा ‘तालामुक्त अभियान’

सुर्खेत । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेस्ववियु) ले मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा ‘तालामुक्त एमयु’ अभियान शुरु गरेको छ । विश्वविद्यालय भित्र पठनपाठन संस्कृतिलाई विकृत पार्दै आफ्नो स्वार्थ प्राप्तिका लागि विभिन्न दवाव समूहद्वारा लगाईएका ताला फोड्दै अनेरास्ववियुले बुधबारदेखि ‘तालामुक्त एमयु’ अभियान शुरु गरेको हो ।

विद्यार्थीको उज्वल भविष्य तथा नियमित पठनपाठनसँगै गुणस्तरीय शैक्षिक गतिविधिको पक्षमा वकालत गर्दै आईरहेको अनेरास्ववियुले आंशिक प्राध्यापकहरुले स्वतः करार हुनुपर्ने माग सहित लगाईएको ताला फोडेको छ ।

अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा मध्यपश्चिम विश्वविद्यालयका सह–इन्चार्ज आशिषकुमार रेग्मीले विश्वविद्यालय केन्द्रीय क्याम्पसका विभिन्न ग्रयाजुएट स्कूलहरुमा आंशिक प्राध्यापकहरुले फागुन १८ गतेदेखि लगाईएको ताला फोडिएको बताए । उनले विद्यार्थीका दैनिक काम कार्वाहीसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विभागहरुमा ताला नखोली विश्वविद्यालयलाई अस्तव्यस्त बनाउनेहरु विरुद्ध अभियान सञ्चालन गरिएको जनाए ।

‘तालाबन्दीले विद्यार्थीहरुको पठनपाठन र प्रशासनिक कार्यमा अवरोध सिर्जना गरेको थियो,’ उनले भने, ‘विश्वविद्यालयको शैक्षिक प्रशासनिक उन्नयनमा अवरोधसँगै पठनपाठनमाथि भईरहेको खेलाँची विरुद्ध अनेरास्ववियु मुकदर्शक बन्न नसक्ने भएकाले ‘तालामुक्त एमयु’ अभियान अघि बढाईएका हौं ।’

तालारहित विश्वविद्यालय कार्यक्रममा सह–इन्चार्ज रेग्मी, अनेरास्ववियु कर्णाली प्रदेश कोषाध्यक्ष जगतजंग शाही, विश्वविद्यालय राष्ट्रिय कमिटी सह– संयोजकद्वय सचिन तिमिल्सेना र भूपेन्द्र भण्डारी, केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष नरेशजंग राना, उपाध्यक्ष अनमोल शाही, सह–सचिव प्रकाश काफ्ले, जेपी पोख्रेल, मनिष चन्द, सुशानजंग क्षेत्री, लोकेन्द्रनाथ योगी, ज्योतिखर शर्मा लगायतका विद्यार्थी अगुवाहरुको सहभागिता रहेको छ ।

Translate »